प्रिमियरमा ‘महापुरूष’लाई उत्कृष्ट प्रतिक्रिया, रसाए सेलिब्रेटीका आँखा



भाइटीकाको भोलीपल्ट बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरूष’को प्रदर्शनको ५ दिन अगावै आइतवार साँझ काठमाडौंमा प्रिमियर गरिएको छ । प्रिमियरभन्दा केही दिन अगाडि नाम चलेका निर्देशक, निर्माता तथा कलाकारलाई चलचित्र देखाएपछि ढुक्क भएर निमाताले प्रदर्शनको ५ दिन अघि प्रिमियर राखेका हुन् । र, प्रिमियरमा चलचित्रले तारिफ र प्रशंसा कमाएको छ ।

एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई मनछुने ढुंगबाट प्रस्तुत गरिएको चलचित्रले प्रिमियरमा उपस्थित हरेक पाहुनालाई भावुक बनाएको थियो । सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा धेरै सेलिब्रेटीका आँखा ओभानो भइसकेका थिएनन् । कति आँशु पस्दै बाहिरिएका थिए भने कोही निःशब्द भएका थिए ।

कलाकार किरण केसीले ‘महापुरूष’ उत्कृष्ट चलचित्र बनेको भन्दै तारिफ गरे । प्रिमियरभन्दा अगावै चलचित्र हेरिसकेका निर्देशक निश्चल बस्नेतले पनि चलचित्रको प्रशंसा गरे । निर्देशक प्रदीप भट्टराईको अर्को ब्लकबस्टर चलचित्र भन्दै उनले हरेक एक कलाकारको अभिनय सशक्त रहेको बताए । धेरैपछि कलाकार हरिवंश आचार्यको अब्बल अभिनय हेर्न पाएकोमा उनले खुसी भाव प्रकट गरे ।

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र हेर्दा मज्जा आएको प्रतिक्रिया जनाइन् । उनले भनिन्, ‘चलचित्रमा जुन कुरा देखाइएको छ, त्यो धेरै राम्रोसँग पस्किएको छ । कलाकार छनोट एकदमै राम्रो छ । नयाँ कलाकार अरुण क्षेत्रीले त फाडिदिएको छ । प्रदीप भट्टराई दाईले अब डबल ह्याट्रिक गर्नुहुनेछ ।’ अर्की अभिनेत्री बेनिशा हमालले चलचित्र राम्रो मात्र नभइ धेरै राम्रो बनेको भन्दै प्रशंसा गरिन् ।

त्यस्तै, अभिनेत्री केकी अधिकारी ‘महापुरूष’लाई चलचित्र मात्र भन्न चाहन्नन् । यो फिल्मले हरेक मानिसको दिमागमा प्रश्न उठाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘यो चलचित्र मात्र होइन, बलियो सन्देश बोकेको चलचित्र हो । चलचित्रले प्रश्न खडा गर्छ । बुबा-आमाको सम्बन्ध हामी स्वीकार गर्दैनौं । हामीले यो सही गरेका छौं कि गलत भनेर चलचित्रले प्रश्न उठाउँछ । कलाकारको काम उत्कृष्ट छ ।’

कलाकार खगेन्द्र लामिछाने ‘महापुरूष’लाई बाको कथामा बनेको उत्कृष्ट चलचित्र भन्न चाहन्छन् । ‘नेपालमा बाहरुको कथामा चलचित्र बनेका थिएनन् । ‘महापुरूष’ले बाको कथा उठाएको छ । चलचित्र अत्यन्त बलियो छ,’ उनले भने, ‘चलचित्रमा इमोसन, कमेडी, सन्देश सबै छ । यो चलचित्र बच्चादेखि बुढासम्मलाई हेराउनु पर्छ । परिवारमा बाको भूमिका के हुन्छ भन्ने कुरा यो चलचित्रले देखाएको छ ।’

प्रिमियरमा पाहुनाहरुबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित देखिएका कलाकार हरिवंश आचार्य ‘महापुरूष’ थ्रि इडियट्स (निर्देशक प्रदीप भट्टराई, निर्माता द्वय रविन्द्र सिंह बानियाँ र म्यास दिपेश खत्री) ले बनाएको बताउँछन् । नेपालमा चलचित्र बनाउनु आफैंमा रिक्स रहेको अवस्थामा यस्तो गम्भीर कथामा चलचित्र बनाउने मेकर इडियट नै रहेको कलाकार आचार्यको भनाई थियो ।

आचार्य भन्छन्, ‘चलचित्रमा मैले पाएको भूमिका निर्वाह गर्न सकेँ जस्तो लागेको छ । यो टिमप्रति म आभारी छु ।’ त्यस्तै, चलचित्रका कलाकार मदनकृष्ण श्रेष्ठले प्रिमियरमा प्राप्त प्रतिक्रियाले मन खुसी भएको बताए । उनले चलचित्र राम्रो बनेको बताउँदै भोलीका दिनमा पनि चलचित्र खेल्ने वाचा गरे । अभिनेत्री गौरी मल्लले मह जोडीसँग काम गर्ने सपना साकार भएकोमा खुसी व्यक्त गरिन् ।

चलचित्रका कलाकार राजाराम पौडेलले आफूले धेरै चलचित्रमा काम गरेको भए पनि ‘महापुरूष’लाई लिएर प्रियिमरभन्दा अगाडिसम्म मनमा डर रहेको बताए । ‘मैले धेरै चलचित्र खेलेँ । अरु चलचित्र खेल्दा मलाई खासै वास्ता हुँदैन थियो । तर, यो चलचित्रलाई लिएर म चिन्तित थिएँ । के हुने हो, कस्तो होला भन्ने लागिरहेको थियो । चलचित्र हेरेपछि म ढुक्क भएँ । चलचित्र ब्लास्ट छ,’ उनले भने ।

प्रिमियरमा सबैभन्दा बढी प्रशंसा कमाएका डेब्यू अभिनेता अरुण क्षेत्रीले पर्दामा देखिएको आफ्नो काम अग्रजहरुको आर्शिवाद र छत्रछायाँका कारण सम्भव भएको बताए । यही चलचित्रबाट डेब्यू गरेकी अभिनेत्री अन्जना बराइलीले ‘महापुरूष’बाट आफूले धेरै सिक्न पाएकोमा खुसी प्रकट गरिन् । उनी भन्छिन्, ‘मैले देखेको सपनाभन्दा धेरै पाएकोमा आफैंलाई सम्हाल्न गाह्रो भएको छ ।’

मह सञ्चारबाट चलचित्रको कखरा सिकेका निर्देशक भट्टराईले ‘महापुरूष’ आफ्ना गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई गुरु दक्षिणा रहेको बताए । उनले भने, ‘यो चलचित्र मेरो गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई गुरु दक्षिणा दिने चलचित्र हो भनेर धेरैचोटी भनेको छु । यो चलचित्रले कति व्यापार गर्छ त्यो अलग कुरा हो तर, मेरो मनमा चाहिँ हिट भइसकेको थियो ।’

उनले स्क्रिप्ट लेखनको क्रममा आफूहरु कयौं आश्रम र बुबा-आमासँग भेट गरेको स्मरण गर्दै अगाडि भने, ‘हामी स्क्रिप्ट लेखनको क्रममा कयौं आश्रम गएर बुबा-आमालाई भेट्यौं । उहाँहरुको मुखबाट निस्किएका धेरै संवाद छ चलचित्रमा ।’ सर्लाही रैनाथे उनले पहिलो पटक आफ्नो चलचित्र देखाउन प्रिमियरमा आमा-बुबालाई लगेका थिए । प्रिमियरमा बोल्ने क्रममा प्रदीप भावुक पनि भए ।

चलचित्रमा रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu