‘तिम्रो मेरो साथ’को गीतमा पुष्प र साम्राज्ञीको नृत्य



आगामी पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत सार्वजनिक भएको छ । लक्ष्मी पूजाको अवसर पारेर सोमवार बोधी एचडी यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘रुमाल बाटेर टाई बनाम’ बोलको गीतमा चलचित्रका अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहले आकर्षक नृत्य गरेका छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक सेटअपमा खिचिएको छ भने कलाकारको पहिरनमा विशेष ध्यान दिइएको छ । भिडियो हेर्दा निर्माताले गीतलाई स्तरीय बनाउन खर्चमा कन्जुसाईं गरेको देखिन्न । जगदिश समाल र मेलिना राईको स्वर कर्णप्रिय छ भने वि पाण्डेले लेखेका शब्दहरु मुखमा झुन्डिने खालका छन् । सुभाष भुषालको संगीत उत्कृष्ट छ ।

‘रज्जा रानी’ र ‘रूद्रप्रिया’ चलचित्रका निर्माता रमेश एमके पौडेलले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा पुष्प र साम्राज्ञीका अलवा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय छ भने विशेष भूमिकामा बेलायतमा बस्दै आएका कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् ।

चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित यस चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद रहेको चलचित्रमा शिव ढकालको छायांकन र योगेश काजीको पनि संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu