‘के घर के डेरा’ले तान्यो दर्शक, मंगलवारको व्यापार उच्च



तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ले दर्शकलाई आकर्षित गर्न सफल भएको छ । प्रदर्शनको पहिलो दिनबाटै सुखद् संकेत गरेको चलचित्रले तिहार विदा सुरु भएसँगै व्यापारमा उछाल ल्याएको छ । प्रदर्शनको चौंथो दिन (गाई तिहारको दिन) देशभर चलचित्रले दर्शकको उल्लेख्य साथ पाएको छ । चलचित्रको मंगलवारे व्यापार बलियो छ ।

मंगलवार विहानदेखि देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा चलचित्रले प्राप्त गरेका शोजहरुमा दर्शकको उपस्थिति बलियो देखिएको छ भने राजधानीका अन्य ठूला मल्टीप्लेक्सहरु एफक्यूब, बिग मुभिज, वान सिनेमाज्, विएसआर, क्यूज सिनेमाज्, आइएनआई सिनेमाज्मा पनि दर्शकको चाप उल्लेख्य छ । मोफसलका मल्टीप्लेक्स तथा सिंगल स्क्रिनमा पनि अवस्था सुखद् छ ।

निर्देशक दीपेन्द्र के. खनालले चलचित्रलाई मिलेको दर्शकको साथले आफू उत्साहित भएको बताए । उनले भने, ‘कुनै बेला राजेश हमाल, निखिल उप्रेती, विराज भट्टको चलचित्र चल्दा हलमा जस्तो हुटिङ र सिठी बज्थ्यो, अहिले हलमा त्यही अवस्था छ । तिहार विदा सुरु भएसँगै हलमा दर्शक बढेका छन् भने व्यापारमा उछाल आएको छ । सम्भवतः केही दिनमा चलचित्रको लगानी उठ्नेछ ।’

अभिनेता विपिन कार्कीले बलियो ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शकको उत्साहजनक साथ पाउन सफल भएको बताउँछन् । उनले भने, ‘हलमा दर्शक रमाइलो गर्न जान्छन् । यो चलचित्रले दर्शकलाई भरपुर रमाइलो प्रदान गर्न सक्ने सामर्थ्य राखेको छ । सोही कारण चलचित्रले दर्शकको साथ मिलेको हो ।’ उनले आफ्नो चरित्र र अभिनयको प्रशंसा भएकोमा खुसी व्यक्त गरेका छन् ।

चलचित्रमा विपिनका अलावा दयाहाङ राई, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ । महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu