प्रदर्शनमा आयो महजोडीको ‘महापुरुष’



मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत चलचित्र ‘महापुरुष’ तिहार सकिएसँगै शुक्रवारबाट प्रदर्शनमा आएको छ । बलियो स्टारकास्ट, ट्रेलरले दिलाएको हाइप, गतिलो प्रचार, प्रिमियरको प्रतिक्रियाका कारण यो चलचित्रले देशभरका मल्टीप्लेक्सहरुमा उच्च शो र सिंगल स्क्रिन पर्याप्त पाएको छ । एड्भान्स बुकिङ पनि सुखद् देखिएकाले चलचित्रले आक्रामक ओपनिङ गर्ने आधार बलियो छ ।

शुक्रवारदेखि आइतवारसम्म तीन दिन लगातार सार्वजनिक विदा भएकाले यसको फाइदा पनि चलचित्रले राम्रै उठाउन सक्नेछ । चलचित्रलाई लामो रेसको घोडा बन्न भने बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । काठमाडौंसहित चितवन र पूर्वाञ्चलमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेकाले यो चलचित्रले दर्शकलाई पनि रिझाउन सफल हुने देखिन्छ ।

एकल पिताको कथामाथि निर्माण भएको चलचित्रमा रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय रहेको छ । चलचित्रका निर्देशक प्रदीप भट्टराई हुन् ।

समाजले कसरी मान्छेलाई महापुरूष बनाउँछ भन्ने स्थितिलाई ‘महापुरूष’ले व्यंग्य गरेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि। गुरुङको सम्पादन छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा चलचित्रमा डेब्यू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu