पहिलो दिन नै ‘महापुरूष’को हाउसफुल व्यापार



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरूष’ले हाउसफुल व्यापारको सुरुवात गरेको छ । शुक्रवार विहानी शोदेखि काठमाडौं र मोफसलका मल्टीप्लेक्स तथा सिंगल स्क्रिनमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले शुक्रबार विहानैदेखि अकुपेन्सी आक्रामक रहेको बताए ।

‘मुख्य कुरा चलचित्र हेरेर निस्किनु भएका दर्शक खुसी र सन्तुष्ट हुनुहुन्छ । वर्ड अफ माउथले चलचित्रलाई झनै फाइदा गर्ने विश्वास छ’, बानियाँले भने । विहानी शोदेखि नै चलचित्र हाउसफुल हुन थालेपछि बानियाँसँगै अभिनेता हरिवंश आचार्य, अभिनेत्री गौरी मल्ल, निर्देशक प्रदीप भट्टराई, नव प्रस्तुतिमा रहेका अरुण क्षत्री र अन्जना बराईली हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छन् ।

आइतबारसम्म तिहार र छठ पर्व बिदा भएकाले पहिलो सप्ताहन्तमा ‘महापुरुष’को ओपनिङ उछाल हुने अनुमान छ । काठमाडौं, चितवन र इटहरीमा भएका तीन अलग प्रिमियरको प्रतिक्रियाको फाइदा समेत चलचित्रलाई मिल्ने देखिन्छ । चलचित्रले पहिलो दिन डेढ करोडको ओपनिङ गर्ने अनुमान गरिएको छ । शुक्रवार साँझको ५ बजेपछि मल्टीप्लेक्सहरुमा चलचित्रको व्यापार थप बढ्ने निश्चित छ ।

प्रदीप भट्टराई निर्देशित यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यही चलचित्रबाट अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu