चर्चित गायक प्रकाश सपुतलाई पुत्र लाभ भएको छ । शनिवार साँझ काठमाडौं मोडल अस्पतालमा उनकी श्रीमती विन्दू बोहोराले छोरालाई जन्म दिएकी हुन् । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको र मंगलवार साँझसम्म अस्पतालबाट डिस्चार्ज हुन सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकाश र विन्दूका एक छोरी पनि छिन् ।
सपुत अहिलेका सर्वाधिक चलेका गायक हुन् । उनले जुन गीत छोए पनि हिट हुने गरेका छन् । उनले गाएका ‘गलबन्दी’, ‘बोल माया’, ‘मेरो पनि हैन र यो देश ?’, ‘पिर’, ‘फुटेका चुरा’, ‘दोहोरी ब्याटल’ जस्ता गीतहरु चर्चित छन् । उनलाई गीतमार्फत् समाजभित्रका कथा बोल्ने गायक भन्ने गरिन्छ । उनले गायनसँगै सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय पनि गरेका छन् ।
गायन क्षेत्रमा ठूलो ‘नेम र फ्रेम’ बनाएका गायक सपुतले चलचित्रमा समेत डेब्यू गरिसकेका छन् । उनले नायक भएर अभिनय गरेको चलचित्र ‘परदेशी २’ आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनलाई अन्य कयैन् चलचित्रबाट समेत प्रस्ताव आउने गरेका छन् । तर, उनी आफ्नो डेब्यू चलचित्र प्रदर्शनमा नआउँदासम्म अरु चलचित्र साइन नगर्ने अडानमा छन् ।