प्रेमकथामा निर्माण भएको चलचित्र ‘मिलन’को प्रदर्शन मिति हेरफेर भएको छ । अब यो चलचित्र मंसिर ९ गतेबाट प्रदर्शन हुने पक्का भएको हो । यसअघि कार्तिक १८ गतेबाट प्रदर्शन हुने भनिएको थियो । यो मितिमा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र केही प्राविधिक कारणले प्रदर्शन मिति सारिएको निर्देशक टेक पौरखी राईले जानकारी दिए ।
निर्देशक राईले एकै मितिमा दुई नेपाली चलचित्र प्रदर्शन गर्दा नेपाली चलचित्र क्षेत्रलाई नै असर पर्ने र अग्रज चलचित्रकर्मिहरुको सल्लाह अनुसार प्रदर्शन मिति सारिएको बताए । अहिलेसम्म मंसिर ९ मा ‘मिलन’बाहेक अरु चलचित्रले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य अभिनय रहेको छ । कुशल र शिल्पाले यही चलचित्रबाट डेब्यु गरेका हुन् । चलचित्रमा सुमिन गुरुङ, शिशिर बाङ्ग्देल, बिशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ । प्रविन थापा चलचित्रका निर्माता हुन् ।
काठमाडौं र कालिन्चोकमा खिचिएको यो चलचित्रमा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, टंक बहादुर राईको भिएफएक्स रहेको छ । साथै, चलचित्रमा समावेश तीनवटा गीतमा कबिराज गहतराजको कोरियोग्राफि, प्रताप दास, कौसल खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर छ ।