मंगलवार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी अभिनेत्री श्वेता खड्काले आफूले जीवनको सबैभन्दा ठूलो अवार्ड पाएको बताएकी छन् । मंगलवार साँझ सामाजिक सञ्जालमा छोरीको तस्विर साझेदार गर्दै उनले छोरीको जन्मलाई सबैभन्दा अमुल्य प्राप्ति र बहुमूल्य सम्पत्ति भनेकी छन् । संसारकै सबैभन्दा सुन्दर शब्द आमाबाट सम्बोधित हुन पाएकोमा उनी आफूलाई भाग्यमानी नारी मान्छिन् ।

उनले लेखेकी छन्, ‘मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशीको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ । मैले संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमुल्य प्राप्ति अनि बहुमुल्य सम्पत्ति हो ।’
उनले प्रशव अवस्थामा स्वास्थ्यको कामना गरेर आफूप्रति साहनुभूती जनाउने आफन्त, परिवार र शुभचिन्तकलाई आभार प्रकट गर्दै श्रीमान् विजयन्द्र सिंह रावतप्रति माया दर्शाउँदै अगाडि लेखेकी छन्, ‘मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी ‘परी’लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’ उनले मंगलवार दिउँसो काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।