यस वर्षको भदौदेखि हरेक हप्ता हलमा नयाँ चलचित्र टुटेका छैनन् । यसैक्रममा, शुक्रवार नयाँ चलचित्र ‘लाखे’ले प्रदर्शन यात्रा सुरु गरेको छ । बुधवार काठमाडौंमा भएको प्रिमियरमा चलचित्रले सुखद् प्रतिक्रिया प्राप्त गरेको थियो । क्लाइमेक्स र एक्सन सिनको प्रिमियरमा प्रशंसा भएको थियो । यो चलचित्रले मल्टीप्लेक्सहरुमा भने उल्लेख्य मात्रामा शो पाउन सकेको छैन ।

सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको हो ।
सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । यस चलचित्रमा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।