‘महापुरूष’ : दोस्रो सातामा पनि हाउसफुल, अमेरिका बढ्यो शो



छठ विदाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘महापुरूष’ले नेपालसँगै अमेरिकामा पनि राम्रो दर्शक पाइरहेको छ । चलचित्रलाई अमेरिकामा नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ । चलचित्रले अमेरिका प्रदर्शन डलासबाट सुरु गरेको थियो । डलासमा ‘महापुरूष’ले बक्सअफिसमा उत्कृष्ट नतिजा देखाएको नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले बताए ।

‘नोभेम्बर ४ बाट थप ९ हल थपिँदै सोमबारसम्म एट्लान्टा, रेले, डेनभर, ह्युस्टन, अस्टिन, लस एन्जलस, एक्रोनमा दिनको कम्तिमा २ शो नियमित हुनेछ । नेपाली र अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुको अर्को हब बाल्टिमोर मेरिल्याण्डका दुई थिएटरमा पनि प्रदर्शन हुँदैछ । मेरील्याण्डको होराइजन सिनेमाले बाल्टिमोर एरियामा प्रदर्शन गर्दैछ’, सुवेदीले भने । आउँदो हप्तामा यो चलचित्र ग्रीन्सबोरो, सान फ्रान्सिस्को, न्यूयोर्क, ओक्लाहोमा सिटी, न्यु जर्सी, सिएटल, कोलम्बस र क्यानडाका ३ सहरमा रिलिज हुने तयारीमा रहेको उनले बताए ।

नेपालमा पनि दोस्रो साता चलचित्र देशभर हाउसफुलका साथ प्रदर्शन भइरहेको छ । दोस्रो हप्ताको शुक्रवार देशभर ५० देखि ६० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको चलचित्रले शनिवार (आज) विहानैदेखि हाउसफुल दर्शक भित्राएको छ । ‘चलचित्रको बारेमा दर्शकले नै राम्रो छ भनेपछि दोस्रो हप्तामा झनै दर्शक बढिरहेका छन् । हामी विभिन्न हलमा पुगेर भेटघाट गर्दैछौँ । र, चलचित्र हेर्ने सबैले उत्कृष्ट प्रतिक्रिया दिनुभएको छ । दोस्रो सातामा व्यापार पनि राम्रो छ’, कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले भने ।

व्रदीप भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, सिरु विष्ट, अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् । फिल्ममा एकल पिताको एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu