रामबाबु गुरुङ निर्देशित चलचित्र ‘फूलबारी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतवार निर्देशक गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ । सबै कलाकार अलग-अलग भावभंगीमा प्रस्तुत छन् ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्र यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्र कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो । अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा निर्माण भएको चलचित्रले नेपाली समाजमा सबैले भोगिराखेकै कथा उठाएको निर्देशक गुरुङले बताए ।
उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रमा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की लगायतको पनि अभिनय छ । जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रको कार्यकारी निर्माता मणिराम पोखरेल र निर्माता मनिष ढकाल हुन् ।