‘डिसेम्बर फल्स’को गीतमा रोमान्टिक आर्यन र उपासना



पुस १५ गते देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘डिसेम्बर फल्स’को ‘चार घण्टा कुरेको’ बोलको गीत यसै साता छायांकन गरिएको छ । भक्तपुर दरबार स्क्वायरमा आकर्षक सेट निर्माण गरेर चार दिन लगाएर खिचिएको गीतमा चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीले नृत्य गरेका छन् । गीतमा रामजी लामीछानेको कोरियोग्राफी छ ।

दीपक शर्माको शब्द र संगीत रहेको गीत निशान भट्टराई र मेलिना राईले गाएका हुन् । ठूलो पर्दालाई प्राप्त गीत छायांकनका तीन तस्विरमा उल्लेख्य संख्यामा कोरस डान्सर देखिएका छन् भने आर्यन र उपासनालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । तस्विरमा उनीहरुको केमेस्ट्री सुहाएको छ । चलचित्र रिलिजको एक महिना अगाडि यो गीतलाई सार्वजनिक गर्ने योजनामा निर्माण टिम छ ।

प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ चलचित्र हो । चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतको पनि अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजाल र राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वद्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu