निर्वाचन आयोगका आयुक्त थपलियाले भने- ‘कलाकार र निर्वाचन आयोग सँधै सँगसँगै हुनेछ’



आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले कलाकारहरुसँग अन्तरक्रिया गरेको छ । सोमवार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा आयोजित कार्यक्रममा आयोगले निर्वाचनलाई सफल बनाउन कलाकारबाट राखेको अपेक्षाको बुँदा पेश गर्‍यो भने कलाकारहरुले पनि आयोगलाई विभिन्न सुझाव दिए ।

निर्वाचनको माहोल निर्माणमा सहयोग गरिदिन, आयोगका सन्देशहरु धेरैभन्दा धेरै मतदातासम्म पुर्‍याइदिन, सामाजिक सञ्जालबाट मतदाता शिक्षाका सन्देश प्रवाह गरिदिन, सभा तथा गोष्ठीहरुमा मतदाता शिक्षाका सन्देश प्रवाह गरिदिन, निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने कार्यमा आयोगले कलाकारबाट अपेक्षा राखेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ।

‘कलाकार र निर्वाचन आयोग सँधै सँगसँगै हुनेछ,’ आयुक्त थपलियाले भने, ‘आयोगले नेताहरुले गरेका गल्तीहरुको सुक्ष्म रुपले अनुगमन भइरहेको छ । जनताको सार्वभौमसत्ता किनबेच हुँदैन, मत बेचिनु हुँदैन । त्यस्तो देखिएमा जानकारी दिनुहोस्, ठाउँको ठाउँ एक्सन लिन्छौं । निर्वाचनमा किनबेच हुँदैन ।’ उनले निर्वाचनमा सम्पूर्ण कलाकारलाई सहभागी हुन पनि आग्रह गरेका छन् ।

कार्यक्रममा कलाकार हरिहर शर्माले निर्वाचन आयोगलाई मतदाता शिक्षा अझै नपुगेको अवगत गराउँदै उम्मेदवारले समेत यस विषयमा प्रष्ट पार्न नसकेको बताए । उनले टोलटोलमा मतदाता शिक्षा दिनुपर्ने सुझाव पनि दिए । हाँस्य कलाकार मनोज गजुरेलले कलाकारहरु अभियानकर्ता मात्र नभएर खबरदारीकर्ता पनि रहेकाले निर्वाचन सफल बनाउनु सबैको दायित्व र कर्तव्य रहेको बताए ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्वाचनका दिनसम्म मतदातालाई मतदाता शिक्षा दिन सम्पूर्ण कलाकारहरु अग्रसर हुनुपर्ने धारणा राखिन् । कलाकार कृष्ण मल्लले भने मतदाता शिक्षित नभएसम्म लोकतन्त्र काम नलाग्ने तर्क राखे । गायक प्रकाश सपूतले आफू व्यवसायिक कलाकार भए पनि राष्ट्रिय जिम्मेवारी बोध गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अन्तरक्रिया कार्यक्रममा राजेश हमाल, रमेश बुढाथोकी, सन्तोष पन्त, रेजिना उप्रेती, जितु नेपाल, सुनिता दुलाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, लय संग्रौला, सैलेन्द्र सिम्खडा, राजा राजेन्द्र पोखरेल, दीपक आचार्यलगायतका कलाकारहरुको उपस्थिति थियो । सम्भवतः पहिलो पटक निर्वाचन आयोगले निर्वाचनको समयमा कलाकारहरुसँग अन्तरक्रिया र सुझाव लिने काम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu