हलिउडले प्रयोग गरेर पनि ठूलो सफलता हासिल गरेको एनिमेटेड चलचित्र अब नेपालमा निर्माण हुने भएको छ । माया एनिमेसन एकेडेमीले ‘चन्द्रागिरी वारियर्स’ (चन्द्रागिरी योद्धाहरु) शिर्षकमा एनिमेटेड चलचित्र बनाउन लागेको हो । चलचित्रको लागत ५ करोड अनुमान गरिएको छ । नेपालकै जनशक्तिबाट चलचित्र बनाउन लागिएको निर्देशक इन्द्र बलामीले जानकारी दिए ।

उनले भने- ‘अहिले हामी प्रि-प्रोडक्सनकै चरणमा छौं । कथावस्तु भने फाइनल भइसकेको छ । अबको एक-दुई हप्तामा क्यारेक्टर डिजाइनको काम पूरा हुनेछ ।’ १५ देखि २० जना जनशक्तिलाई चलचित्र तयार गर्न डेढ वर्ष लाग्ने उनको अनुमान छ । चलचित्रको सम्पूर्ण एनिमेसनको काम नेपालमा नेपालकै जनशक्तिबाट गर्ने बलामीले जानकारी दिए । चलचित्रको लम्बाई ९० मिनेटको हुनेछ ।
चलचित्रलाई विश्व प्रख्यात ओटीटी प्लेटफर्ममा रिलिज गर्ने उनको योजना छ । तर, अहिलेसम्म कुनै ओटीटी प्लेटफर्मसँग छलफल नभएको उनले बताए । ओटीटीसँगै चलचित्रलाई हलमा पनि रिलिज गरिने बलामीको भनाई छ । उनका अनुसार, चलचित्र नेपाली, हिन्दी, नेवारी र अंग्रेजी गरी चारवटा भाषामा बन्नेछ । ‘चन्द्रागिरी वारियर्स’लाई स्तरीय बनाउन कुनै कसर नछाड्ने उनी बताउँछन् ।