‘कबड्डी ४’ सिनेमाघर एपमार्फत डिजिटल रिलिज हुने



काठमाडौँ। नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाई गर्न सफल रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४’को अब डिजिटल प्रिमियर हुने भएको छ । भोली शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा चलचित्र डिजिटल प्रिमियर हुन लागेको हो । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एप र चलचित्रको टिमले यसबारेमा जानकारी गरायो । यो चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ ।

निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर चलचित्रलाई डिजिटल रिलिज गर्न लागेको बताए । ‘नेपाली चलचित्रको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ,’ उनले भने, ‘एउटा सर्जकले व्यवसायिक पक्ष पनि हेर्छ । र, आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरुन् भन्ने पनि हुन्छ । यी दुवै कुराका लागि ‘कबड्डी ४’ सिनेमाघरमा रिलिज गर्न लागेका हौं ।’

सिनेमाघरका सञ्चालकमध्ये एक खगेन्द्र लामिछानेले ‘कबड्डी ४’को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । उनले अब यूट्युबभन्दा ओटीटी प्लेटफर्ममा चलचित्र रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको पनि बताए । उनले भने, ‘यूट्युबमा चलचित्र रिलिज गर्ने चलन पुरानो हो । त्यसले नेपाली चलचित्रलाई फाइदा पनि गर्दैन । यूट्युबमा धेरै दर्शकले त हेर्लान् त पैसा एकदमै कम आउँछ । अहिले सिनेमाघर निर्मातालाई यूट्युबभन्दा धेरै रेभिन्यू दिन सक्ने अवस्थामा पुगिसकेको छ ।’

यूट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर चलचित्र हेर्ने बानीको विकास भइरहेको बताए । दशैंमा रिलिज भएको ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाई गरेको उल्लेख गर्दै उनले दुई/तीन वर्षमा सिनेमाघर एपले निर्मातालाई लगानीको ४०/४५ प्रतिशतसम्म फिर्ता गर्न सक्ने विश्वास व्यक्त गरे ।

सिनेमाघर एपका टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका मोबाईल, ट्याब्लोईड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने जानकारी दिए । उनले सिनेमाघर एपमा उपलब्ध चलचित्रहरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेविट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए ।

चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले नेपालमा डिजिटल प्लेटफर्मको विकास हुनु सुखद कुरा रहेको बताउँदै यस्ता प्लेटफर्मलाई सहयोग गर्न राज्यसँगै बोर्ड पनि तयार रहेको बताए । कार्यक्रममा ‘कबड्डी ४’का कलाकारहरु बुद्धि तामाङ, विजय बराललगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu