नम्रताको ‘डेसान’ टिजर सार्वजनिक



मंसिर २३ गते प्रदर्शन हुन लागेको चलचित्र ‘डेसान’को टिजर सार्वजनीक गरिएको छ । राजधानीमा बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको विषयलाई प्रस्तुत गरिएको देखिन्छ । टिजरमा अभिनेत्री नम्रता सापकोटाको भूमिकाले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउन सक्ने देखिन्छ ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा नम्रतासँगै भोला सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, पमिशा सारु मगरलगायतको अभिनय छ । पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रमा राजु काउचाको कथा, निर्देशक मगरको पटकथा तथा संवाद, चक्रबहादुर महर्जनको छायांकन, अजय स्याङतेनको नृत्य निर्देशन, मिलन श्रेष्ठले सम्पादन छ ।

टिजर रिलिज कार्यक्रममा निर्देशक कमलले कोरोना महामारीको निकै सकसपूर्ण अवस्थामा चलचित्रको छायांकन सम्पन्न गरेको स्मरण गरे । कोरोनाकालमा सबैतिर अन्योलको वातावरण रहेको बेला आफूले जोखिम मोलेर छायांकन गरेको उनको भनाई छ । चलचित्रमा नेपाली समाजको वास्तविक कथालाई उठान गरेको बताउँदै उनले दर्शकलाई मनोरञ्जनको कुनै कमी नहुने दाबी गरे ।

अभिनेत्री सापकोटाले कोरोना संक्रमण उत्कर्षमा रहेको समयमा छायांकन गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए पनि अहिले चलचित्र प्रदर्शन हुन लाग्दा सबै दुःख-पीडा भुलेको बताइन् । उनी चलचित्रमा आफ्नो भूमिका केही नौलो र अलग रहेकाले दर्शकलाई मनपर्नेमा विश्वस्त छिन् । यो चलचित्रको वितरण अधिकार एफडी कम्पनी, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu