नेपालमा छायांकन भएको ‘उचाइँ’ले थाल्यो प्रदर्शन, तेस्रो सातामा ‘महापुरुष’



नेपालमा ७० प्रतिशत छायांकन भएको बलिउड चलचित्र ‘उचाइँ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । संसारकै सर्वोच्च शिखर सगरमाथा आसपासका क्षेत्रमा छायांकन भएको चलचित्रले नेपालका मल्टीप्लेक्सहरुमा सुखद् शो पाएको छ भने विहानैदेखि दर्शक अकुपेन्सी राम्रो छ । यो चलचित्रमा कैद दृश्यले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

सूरज बडजात्या निर्देशित ‘उचाइँ’मा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका ठाकुर, नानी गुप्ताको मुख्य भूमिका छ । मित्रताको कथा बोल्ने चलचित्रको छायांकनका लागि अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, नानी गुप्तालगायत नेपाल आएका थिए । अमिताभ भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् र उनले मुम्बईको एक स्टूडियोमा नेपाल महसुस गरे ।

चलचित्रमा केही नेपाली कलाकारहरुले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । नेपालमा चलचित्रको छायांकन हुँदा २० करोड खर्च भएको बताइन्छ । ट्राभलर्स क्रिउले मोटो रकम तिरेर ‘उचाइँ’को नेपाल प्रदर्शन अधिकार लिएको हो । नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर चलचित्रलाई वितरण गरेका छन् ।

त्यस्तै, यो हप्ता हलमा हलिउडको प्रतिक्षीत चलचित्र ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ पनि प्रदर्शनमा आएको छ । मल्टीप्लेक्सहरुमा उच्च शो पाएको यो चलचित्रको आक्रामक रुपमा टिकट विक्री भइरहेको छ । भारतमा रिलिजको दुई हप्तापछि बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘राम सेतु’ पनि शुक्रवारबाट नेपालमा प्रदर्शन भएको छ । यो चलचित्र भारतमै फ्लप भइसकेको छ ।

यो हप्ता तीन विदेशी चलचित्र प्रदर्शनमा आउँदा नेपाली चलचित्र ‘महापुरुष’ले भने तेस्रो साताको प्रदर्शन सुरु गरेको छ । दुई सातामा सात करोड ग्रस कलेक्सन गरेको चलचित्रले तेस्रो सातामा पनि मल्टीप्लेक्सहरुमा उल्लेख्य शो र पर्यात मात्रामा सिंगल स्क्रिन पाएको छ । बलियो ‘वर्ड अफ माउथ’ मिलेको चलचित्रको तेस्रो सातामा पनि क्रेज घटेको छैन । शुक्रवार विहानैदेखि हलहरुमा दर्शक अकुपेन्सी सुखद् छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu