नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता



काठमाडौँ । नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच चलचित्र निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ । शुक्रबार क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाल भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलर र आफूले सम्झौता गरेको जानकारी गराएका हुन् ।

कलेजमा अध्ययन गर्ने विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको चर्चित फिल्म कलेजसँग आफूहरूले सम्झौता गरेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराए । ‘चलचित्र स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन । हाम्रा विद्यार्थीहरूले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सृजनात्मक र प्राविधिक दुवै हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ,’ उप्रेतीले भने ।

दुवै चलचित्र पढाउने संस्थाबीच भएको सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थीहरू आदान प्रदान गर्नेछन् । यसरी आउने÷जाने विद्यार्थीहरू १ महिना, ३ महिना र ६ महिनासम्मका लागि आउन÷जान सक्ने कार्यक्रममा जानकारी गराइयो । नेपालबाट जाने विद्यार्थीहरू न्युयोर्क एकेडेमी रहेका न्युयोर्क, लसएञ्जल्स र सिकागोमा रहेका एकेडेमीमा जानेछन् । अमेरिकाबाट पनि यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन् ।

नेपाल फिल्म क्याम्पसमा ब्याचलर सकेपछि मास्टर्स गर्न जाने विद्यार्थीले न्युयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा पढ्न पाउने पनि सम्झौता भएको कार्यक्रममा जनाइएको थियो । विद्यार्थी आदान प्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि चलचित्रका विविध विषयमा कार्यशाला तथा मास्टरक्लासको आयोजना हुने पनि सम्झौतामा उल्लेख छ ।

यसैगरी, नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीका ब्याचलर चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड, तराईमा रहेका कथाको उत्खनन् गर्ने र तिनलाई दृश्यमा जिवन्त बनाउने ‘कथा यात्रा’को आयोजना गरिने पनि कार्यक्रममा जानकारी दिइयो । क्याम्पस प्रमुख शिशिर उप्रेतीले न्युयोर्क फिल्म एकेडेमीले चलचित्र निर्माणमा चाहिने उपकरण सित्तैमा दिने वाचा गरेको र भविष्यमा स्नाताकोत्तर तहको पाठ्यक्रम निर्माणमा पनि चाहिँदो सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu