
काठमाडौं – चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउन माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले निवेदकको मागदाबी बमोजिम अन्तरिम आदेश दिन नपर्ने ठहर गर्दै यसअघि उच्च अदालत पाटनले गरेको आदेशलाई नै सदर गरेको हो।
चलचित्रको प्रदर्शन रोक्न मागदाबीसहित रोशनी नेपालीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी थिइन्। उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले ‘कानुनबमोजिम गर्नु र ध्यानाकर्षण गराइएको’ भन्दै अन्तिम फैसला सुनाएको छ। सर्वोच्च अदालतले निवेदकको मागलाई अस्वीकार गरेसँगै चलचित्र ‘लालीबजार’ को प्रदर्शनका लागि रहेका सम्पूर्ण कानुनी अड्चनहरू हटेका छन् र निर्बाध प्रदर्शनको बाटो पूर्ण रूपमा खुला भएको छ।
यसअघि गत साता उच्च अदालत पाटनले पनि चलचित्रको पक्षमा फैसला सुनाउँदै अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएपछि यो सिनेमा देशव्यापी रूपमा प्रदर्शनमा आइसकेको छ। चलचित्रका निर्माता म्याक्स दिपेश खत्रीले सर्वोच्च अदालतले निवेदकको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको पुष्टि गर्दै अब सिनेमा हलहरूमा चलचित्रको प्रदर्शन निरन्तर रहने जानकारी दिएका छन्।






