
काठमाडौं – ‘अमेरिका बोइज’ र ‘बिहे पास’ जस्ता चलचित्र निर्देशन गरेर दर्शकको मन जितिसकेका निर्देशक प्रवेश पौडेलले आफ्नो तेस्रो फिचर चलचित्रका रूपमा ‘मेरो प्रेम अधुरो’ निर्माण गर्ने औपचारिक घोषणा गरेका छन्। विशुद्ध प्रेमकथामा आधारित रहने यस सिनेमामा अभिनेता कबिर खड्का मुख्य भूमिकामा देखिने पक्का भएको छ।
सितारा फिल्मस् र कबिर खड्का फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन आगामी साउन महिनादेखि सुरु गरिने निर्माण पक्षले जनाएको छ। सिनेमाको क्यानभासलाई फराकिलो बनाउँदै नेपालका विभिन्न रमणीय स्थानहरूका साथै युरोप र अस्ट्रेलियामा समेत यसको दृश्य कैद गरिने तय भएको छ।
चलचित्रका लागि अभिनेता कबिरको जोडीका रूपमा दुई जना अभिनेत्रीहरूको खोजी कार्य तीव्र पारिएको छ। चलचित्र निर्माणको घोषणासँगै अभिनेत्री छनोटको प्रक्रिया पनि अगाडि बढाइएको र खुला अडिसनमार्फत नै दुवै अभिनेत्रीको अन्तिम टुंगो लगाइने निर्देशक पौडेलले जानकारी दिएका छन्।
यस चलचित्रमा सुरेन्द्र रावल र अभिनेता कबिर खड्का स्वयंले निर्माताको जिम्मेवारी सम्हाल्नेछन्। दर्शकहरूलाई एउटा सुन्दर, मर्मस्पर्शी र उत्कृष्ट ‘लभस्टोरी’ पस्कने उद्देश्यसहित आफूले अभिनयका साथै निर्माणमा पनि पाइला चालेको अभिनेता खड्काले बताएका छन्। करण खड्का सह-निर्माताका रूपमा जोडिएको यस प्रोजेक्टमा प्राविधिक तर्फ शरद महतोको छायांकन (डीओपी), अर्जुन कटुवालको संगीत र बमबहादुर थापाको क्रिएटिभ निर्देशन रहनेछ।






