भारतीय अभिनेत्री सबाना आजमीले नेपाली रंगकर्मीलाई ‘मास्टरक्लास’ दिने



भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन् । आजमी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन् ।

आउँदो मंसिर ९ गते सुरु हुने महोत्सवको उद्घाटनमा विशेष अतिथिको रुपमा आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्रमा सुप्रशिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरुलाई ‘मास्टरक्लास’ पनि दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले बताएकी छिन् ।

मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्नेछिन् ।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरु मध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu