दशैंभन्दा अगाडि कास्कीको धम्पुसबाट छायांकन सुरु भएको चलचित्र ‘गुलाबी’को इन्डक्ल्याप भएको छ । चलचित्रका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको छ । आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी गराइन् । चलचित्रमा समावेश एक गीत भने पछि खिचिने भट्टले बताइन् ।
पारलैङ्गिकताको कथा बोल्ने चलचित्रमा नाजिर हुसेन, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेका छन् । चलचित्रको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनले सहकार्य गरेका छन् । ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा भद्र भुजेल एसोसिएट निर्देशक, पुष्कर लामा निर्माण नियन्त्रक, मनोज लामाको शृङ्गार छ । सम्राट बस्नेत द्वन्द्व निर्देशक रहँदा लेखु सहयात्री र शान भुषालले संगीत संयोजनको काम गरेका छन् । निर्देशक भट्टले चलचित्रलाई आगामी फागुनमा प्रदर्शनको लक्ष्यसहित यसै साताबाट पोष्ट प्रोडक्सनको काम सुरु हुने बताइन् ।