रविन्द्र मिश्रलाई जिताउन घरदैलोमा मनिषा



आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन संघारमा रहँदा कलाकाहरु पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । कसैले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेका छन् भने कसैले पार्टीका उम्मेदवारका लागि खुलेर मत मागिरहेको अवस्था छ । पारिवारिक पृष्ठभूमि कांग्रेस भएकी बलिउडकी नामी अभिनेत्री मनिषा कोइराला भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् ।

दशैंअघिसम्म मुम्बईमा रहेकी उनी राप्रपाको चुनावी अभियानमा हिँड्नकै लागि नेपाल आएकी हुन् । उनी यो हप्ता स्याङ्जा, मकवानपुर, काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा सहभागी भइन् । मंगलवार उनी काठमाडौं क्षेत्र नं. १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै घरदैलोमा पुगेकी छन् । उनको सहभागिताले राप्रपाप्रति आकर्षण बढ्दो छ ।

घरदैलोका क्रममा बबरमहलमा आयोजित कोण सभामा मिश्रले मनिष कोइरालाप्रति आभार व्यक्त गरे । ‘धेरैले बिपी कोइरालाको आदर्शलाई बिर्सेर हिँडिराखेको बेलामा त्यसलाई अटल राख्नुपर्छ । त्यसबाट मात्र यो देशको हित र भलो हुन्छ,’ मिश्रले भने, ‘बिपीले बोलेको आदर्श नै यो देशका लागि सबैभन्दा उपयुक्त आदर्श हो ।’ मनीषा बिपीको नातिनी हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भष्ट्रचार नगर्ने प्रतिवद्धता जनाएका कारण आफू राप्रपाप्रति आकर्षित भएको कोइरालाले बताएकी छन् । केही दिनअघि मकवानपुरमा आयोजित चुनावी सभामा उनले राजतन्त्र र बहुदलीय व्यवस्था ल्याउनको लागि राप्रपालाई भोट दिन आग्रह गरेकी थिइन् । ‘भष्ट्राचार गर्नु आमाको रगत खानु बराबर हो’ भन्ने लिङ्देनको शब्दले आफूलाई राप्रपाप्रति तानेको मनिषाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu