चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका प्रमुखबीच चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । बुधवार पर्यटन बोर्डमा भएको छलफलमा बोर्डका सीइओ धनञ्जय रेग्मी र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसँगै वितरक तथा निर्माता सुनिल मानन्धर, चलचित्र विकास बोर्डका सल्लाहकार सदस्य विधान कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।

नेपालमा छायांकन हुने हलिउड, बलिउड, साउथ इन्डियनसँगै अन्य विदेशी चलचित्रलाई प्रोत्साहन गर्न निर्माण कम्पनीसँग नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले सिधै सम्बन्ध राख्ने विषयमा छलफल भएको बोर्डका सल्लाहकार कार्कीले जानकारी दिए । चलचित्र छायांकनको क्रममा कुनै समस्या आउँदा त्यसलाई समाधान गर्न दुवै बोर्डले पहल गर्ने पनि सहमति भएको उनले बताए ।
नेपालमा ७० प्रतिशत छायांकन भएर हाल प्रदर्शनरत बलिउड चलचित्र ‘उचाईं’को टिमलाई सम्मान गर्ने तयारी पनि पर्यटन बोर्डले गरेको जानकारी प्राप्त छ । नेपालको पर्यटन प्रवर्द्धनमा यो चलचित्रले ठूलो भूमिका खेल्ने भन्दै बोर्डले यही शुक्रवार काठमाडौंको सिभिल हलमा विशेष शोको समेत आयोजना गर्दैछ । त्यसबेला पर्यटन बोर्डले केही नयाँ कुरा घोषणा गर्न सक्ने बुझिएको छ ।