आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेपालकी बलिउड अभिनेत्री मनिषा कोइरालाले हिन्दू राष्ट्र र राजतन्त्र पूर्नस्थापनाको मुद्धा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मत मागिरहेकी छन् । उनी केही दिनदेखि विभिन्न क्षेत्रबाट उठेका राप्रपाका उम्मेदवारलाई जिताउन घरदैलोदेखि चुनावी सभासम्म निर्धक्क सहभागी भइरहेकी छन् ।

मंगलवार काठमाडौं क्षेत्र नम्बर १ का राप्रपा उम्मेदवार रविन्द्र मिश्रका लागि भोट माग्दै घरदैलोमा हिँडेकी बीपी कोइरालाकी नातिनी मनिषाले बुधवार एक भिडियो सन्देशमार्फत् प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाका लागि मत मागेकी छन् । उनले रेखालाई निडर र हिम्मतवालीको संज्ञा दिँदै जितको शुभकामना पनि दिएकी छन् ।
रेखाले फेसबुकमा शेयर गरेको भिडियोमा मनिषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याती कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’