‘डिसेम्बर फल्स’ गीत : उपासनालाई फकाउँदै आर्यन



प्रविण झाद्वारा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘चार घण्टा कुरेको…फकाउनै जानिनँ’ बोलको लोकलयको गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ भने निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी छमछमी नाच्दै देखिएका छन् । गीतमा उनीहरुको केमेस्ट्री जमेको छ । निर्माताले गीतको भिडियोमाथि पैसाको खोलो बगाएका छन् । सेटअप, लाइटिङ, पहिरन र कोरस डान्सरमा ठूलो खर्च भएको देखिन्छ । गीतको अडियो र भिडियो दुवै पक्ष बलियो छ ।

 
गीत रिलिज कार्यक्रममा आर्यनले अहिलेको सिनारियोमा आफ्नो करिअरको उम्दा गीत ‘फकाउनै जानिनँ’ रहेको बताए । ‘पहिला र अहिलेमा गीत बन्ने सिनारियो अलग छ । अहिलेको सिनारियोमा यो मेरो करिअरको उम्दा गीत भन्न मिल्छ,’ उनले भने । आर्यनले आफूलाई दर्शकले लभस्टोरी चलचित्रमा मन पराएकाले ‘डिसेम्बर फल्स’मा पनि त्यो चिज नछुटेको र दर्शक निराश नहुने दावी गरे ।

त्यस्तै, उपासनाले आर्यन सिग्देलसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताइन् । उनले भनिन्, ‘आर्यन सरको आँखाले नै अभिनय गर्छ । उहाँ अनुभवी भएकाले पनि होला, सेटमा हामी हाँसीमजाक गरिरहेका हुन्थ्यौं अनि एकैछिनमा चलचित्रमा रुने सिन हुँदा आर्यन सरले मज्जाले गर्दिनु हुन्थ्यो । मलाई चाहिँ अलि समय लाग्थ्यो । उहाँसँग काम गर्दा एकदमै सहज महसुस पनि भयो ।’

आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई महेश आर गुप्ताले छायांकन गरेका हुन् । चलचित्रका निर्माता रामप्रसाद रिजाल हुन् । उनले यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ बनाइसकेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ चलचित्र हो । चलचित्रमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय रहेको छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu