करिश्माको आगमनले मेरो अपुरो जीवन पूर्ण भयो : सलोन बस्नेत



सोमबार एयर होस्टेल करिश्मा केसीसँग लगनगाँठो कसेका अभिनेता सलोन बस्नेतले बुधवार साँझ काठमाडौंको एक पाँचतारे होटलमा आफन्त, साथीभाई र चलचित्रकर्मीहरुका लागि रिसेप्सन पार्टी आयोजना गरेका थिए । जहाँ नवविवाहित जोडीलाई बधाई दिन नीर शाह, भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, पूजा शर्मा, सञ्चिता लुईँटेल, सलिनमान बनियाँ, उपासना सिंह ठकुरीलगायत पुगेका थिए ।

पाहुनाहरुबाट बधाई ग्रहण गरेपछि मिडियासँग कुराकानी गर्ने क्रममा सलोनले खुसीसाथ विवाह गर्दा मज्जा आउने अनुभव साटे । उनले श्रीमतितिर हेर्दै खुसी भावमा भने- ‘मेरो विवाहको कुरा सुरु भएपछि जति जनासँग भेट गरेको थिएँ, उहाँहरुले विवाहपछि धेरै तनाव हुन्छ भनेर मलाई एक किसिमको डर नै देखाइदिनुभएको छ । तर, खुसी भएर विवाह गर्दा एकदमै मज्जा आउँदो रहेछ ।’

उनले करिश्माको आगमनले आफ्नो अपुरो जीवन पूर्ण भएकोमा खुसी व्यक्त गरेका छन् । सलोनले आमा-बुबा भने अलि पछि बन्ने बताए । सञ्चारकर्मीको प्रश्नमा उनले मुस्कुराउँदै भने, ‘बच्चा चाहिँ अलि पछाडि नै हुन्छ । पहिला बुढा-बुढी बनेर रमाउन चाहन्छौं, त्यसपछि आमा-बुबा बन्नेतिर सोचौंला ।’ त्यस्तै, करिश्माले आफ्नो कामले गर्दा अहिले नै बच्चाको विषयमा सोच्न नसक्ने बताइन् ।

विवाह गर्दा रमाइलो भएको बताउँदै उनले तत्काल हनिमुनका लागि कुनै योजना नबनाएको बताएकी छन् । ‘हामीले हनिमुनको प्लान नै गर्न पाएका छैनौं । विवाहका लागि म विदा लिएर बसेको हुँ । अबको दुई दिनमा मेरो विदा सकिन्छ । नयाँ वर्षको अवसर पारेर हनिमुनको प्लान गर्नेछौं,’ उनले भनिन् । मोडल समेत रहेकी करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेस छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu