‘सोल अफ द कमाण्डो’ले दर्शकलाई आफ्नो पुर्खा सम्झाउँछ : राजकुमार राई



सन् १९९९ को सुपरहिट चलचित्र ‘द कमाण्डो’का अभिनेता राजकुमार राईले यही मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल अफ द कमाण्डो’बाट २४ वर्षपछि कमब्याक गरेका छन् । उनी तेक्वान्दो खेलाडी हुन् भने अवकाशप्राप्त ब्रिटिस आर्मी पनि हुन् । पेशागत कारणले उनले ‘द कमाण्डो’पछि अरु चलचित्रमा काम गर्न सकेनन् ।

२४ वर्षपछि अभिनय ‘कमब्याक’ कलाकारका लागि चुनौतीपूर्ण रहन्छ । तर, राजकुमारको हकमा उनी यसलाई चुनौती मान्दैनन् । ‘२४ वर्षपछि अभिनयमा फर्कंदा गाह्रो भएन । झन् मज्जा आयो । ‘द कमाण्डो’पछि मैले अभिनय गरिनँ । पेसागत काममा नै बढी समय केन्द्रित रहेँ । बरु मैले अभिनयको मामलामा पहिलाभन्दा केही परिपक्वता पाएँ’, उनले भने ।

‘द सोल अफ कमान्डो’लाई राजकुमार राष्ट्रियता जोडिएको चलचित्र मान्छन् । ‘ब्रिटिस आर्मीमा गोर्खाली सेनाका रूपमा भर्ती भएर जाने सेना किन स्वदेश फर्कन लालयित हुन्छ भन्ने कथा चलचित्रमा देखाइएको छ । मेरो बुझाइमा नेपाल छ त गोर्खाली सेना छ । त्यसकारण नेपाल फर्किएपछि केही गर्नुपर्छ भनेर यो चलचित्र बनाएको हुँ’, राजकुमार खुल्छन् ।

राजकुमार चलचित्रले दर्शकलाई आफ्नो पुर्खा सम्झाउने दाबी गर्छन् । ‘पुर्खाको सम्पत्ति भनेको सन्तानको सम्पत्ति हो । घर भत्किएपछि बस्ने बास छैन र पैसा पनि छैन भने त्यो मानिस बाबु, बाजेको जन्मेको घर नै पुग्छ । चलचित्रमा त्यही कथा देखाएका छौँ’, उनी भन्छन्, ‘विदेशमा जन्मिएका बच्चाहरू नेपाल भन्नासाथ काठमाडौं मात्र सम्झन्छन् । उनीहरूले देखेको काठमाडौं नै हो । पुर्खाको गाउँ देखेका छैनन् । हाम्रो जीवन गाउँबाट सुरु भएको हो, त्यहीकारण यो चलचित्र हेर्ने दर्शकले बाबु, बाजेको पुर्ख्यौली थलो पनि स्मरण गरून् भन्ने मेरो चाहना हो ।’

चलचित्रमा राजकुमारसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राईको पनि अभिनय छ । युवराज (वीरबहादुर) राई निर्देशित चलचित्रमा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu