अभिनेता सलोन बस्नेत र करिश्मा केसीको विवाहको भिडियो सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच ‘राजा रानी’ बोलको गीत सार्वजनिक गरिएको हो । अभिनेता आमेश भण्डारीले सलोन करिश्मालाई विवाहको उपहारस्वरुप यो गीत तयार पारेका हुन् । रिसेप्सन पार्टीमै यो गीत देखाइएको थियो ।

गीतको भिडियोमा सलोन र करिश्माका बिहेका दृश्यहरु समावेश गरिएको छ । गीतमा शब्द र संगीत आमेश भण्डारीले सृजना गरेका छन् । आमेशलाई स्वरमा सुनिता थेगिमले दिएकी छिन् । भिडियोको निर्माता र निर्देशक सलोन स्वंयम् हुन् ।
सलोन र करिश्माले यही मंसिर १२ गते चन्द्रागिरीमा भव्य विवाह गरेका थिए । गीत सार्वजनिक कार्यक्रममा नवविवाहित जोडीसँगै निर्देशक शोभित बस्नेत, उनकी छोरी सलिना बस्नेत र आमेश भण्डारी उपस्थित थिए । आमेशले ‘राजा रानी’ गीत सलोन र करिश्माका लागि आफ्नो मनबाट निस्किएको बताए ।
कार्यक्रममा करिश्माले आफूलाई चलचित्रमा काम गर्ने कुनै चाहना नभएको स्पष्ट पारिन् । आफू एयर होस्टेज भएका कारण पनि चलचित्रमा आउने कुनै चाहना नभएको र समय पनि नहुने उनले बताइन् । त्यस्तै, सलोनले आफूलाई जुम्ल्याहा बच्चाको चाहना भएको सुनाए । विवाहपूर्व उनीहरु करिब चार वर्ष प्रेम सम्बन्धमा थिए ।