‘सानो संसार’ जोडी नम्रता श्रेष्ठ र विनय श्रेष्ठबीच करिब १४ वर्षपछि हुन लागेको सहकार्य टरेको छ । चलचित्र ‘ग्रहण’बाट विनय श्रेष्ठ बाहिरिएपछि उनीहरुलाई दर्शकले एकसाथ हेर्न नपाउने भएका हुन् । गत वर्ष सिक्किममा घोषणा भएको चलचित्रमा विनय र नम्रताले एकसाथ अभिनय गर्ने निश्चित भएको थियो । तर, छायांकन सुरु नहुँदै विनयले चलचित्र छाडेका छन् ।
निर्माण टिमले विनयको स्थानमा दिव्यदेवलाई लिने भएको छ । निर्देशक तथा निर्माता राजिव गुरुङले मुख्य अभिनेताको रुपमा दिव्यदेवले काम गर्ने करिब सहमति भएको जानकारी दिए । तर, दुई पक्षबीच कागजी सम्झौता भने भइसकेको छैन । गत वर्ष प्रदर्शित चलचित्र ‘चिसो एस्ट्रे’बाट सशक्त रुपमा उदाएका दिव्यदेवले नयाँ चलचित्र ‘हिजो आजका कुरा’ बाट पनि अभिनयमा वाहवाही बटुलेका थिए ।
कलाकारसँगै यो चलचित्रको लोकेसनमा पनि परिवर्तन आउने भएको छ । गत वर्ष भारतको सिक्किममा घोषणा भएको ‘ग्रहण’को सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने बताइएको थियो । तर, अब सिक्किमको विकल्प खोज्ने क्रम जारी रहेको राजिवले बताए । चलचित्रको कथावस्तुमा समेत परिवर्तन गरिएको छ ।
हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने ‘ग्रहण’को स्क्रिप्ट र स्क्रिनप्ले विशाल सापकोटाको हो । चलचित्रको कथा निर्देशक गुरुङ स्वयम्को हो । चलचित्रमा अभिनेता सारुक ताम्राकारको पनि अभिनय रहनेछ । यतिबेला सारुक र नम्रता प्रेम सम्बन्धमा रहेको चर्चा छ । यो चलचित्रको छायांकन पुष १५ पछि सुरु गर्ने तयारीमा निर्माण टिम छ ।