मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन



हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’ आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य कस्तो बनेको होला भन्ने जिज्ञासा धेरैमा छ । चलचित्रलाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।

रिलिजको लागि २ महिनाको समय बाँकी रहँदा चलचित्रको टिम भने यतिबेला बलिउड नगरी मुम्बई पुगेको छ । मुम्बईको चर्चित प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ । प्राइम फोकसले यसअघि ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता थुप्रै बलिउड चलचित्रको सम्पादन गरिसकेको छ ।

नेपालमा प्रयाप्त प्रोडक्सन स्टुडियो भएपनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजालले बताए । ‘मेरो हजुरआमाले भन्नु हुन्थ्यो, ‘गरेपछि राम्रैसंग गर्नु पर्छ ।’ बिस्तारै भनेर हुँदैन । त्यसपछि सबभन्दा राम्रो स्टुडियो कुन होला भन्दा प्राइम फोकसको नाम अगाडि आयो । ‘ब्रम्हास्त्र’ जस्तो चलचित्र बनाएको स्टुडियो भनेपछि प्राइम फोकसमा नै आउने निधो गरियो ।’

‘ह्यारी कि प्यारी’का मुख्य सहायक निर्देशक गिरिराज घिमिरे मुम्बईमा काम गर्दा टेक्निकल रुपमा सजिलो हुने बताउँछन् । त्यस्तै, चलचित्रका छायांकार सुदिप बराल मुम्बईमा पोस्ट प्रोडक्सनको काम गर्दा प्राविधिक रुपमा सिनेमा अब्बल हुने धारणा राख्छन ।

चलचित्र सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली चलचित्रलाई दिएको माया र सम्मानको कदर गर्छन् । उनले भने, ‘हामी उहाँहरुको क्लाइन्ट भएका कारण राम्रो काम दिनु भएको छ । अझ त्यो भन्दा नि राम्रो कुरा उहाँहरुले नेपालीलाई दिएको सम्मान । उहाँहरुले बलिउडकर्मीलाई जस्तै हामीलाई पनि सम्मान दिनुभएको छ । उहाँहरु नयाँ काम गर्न पाएकोमा उत्साहित पनि देखिनुभएको छ ।’

‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिङ्घम’ जस्ता बलिउडका चर्चित चलचित्रमा साउण्ड मिक्सिङको काम गरिसकेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा साउण्ड मिक्सिङ गर्न पाउँदा एउटा माइलस्टोन पार गरेको बताउँछन ।

‘चलचित्रको कन्टेन्ट र भावना राम्रो छ । यो कन्टेन्ट दर्शकमाझ पुग्न जरुरी जस्तो लागेपछि मिक्सिङको काम अगाडी बढाएँ । यो मेरो करिअरको माइलस्टोन हो । चलचित्रले भावनात्मक रुपमा दर्शकसंग कनेक्ट गर्न सक्छ,’ दासले चलचित्रको तारिफ गरे ।

पहिलो पटक नेपाली चलचित्रमा कलरको काम गरेका प्राइम स्टुडियोका सिनियर कलरिस्ट मनोज वर्मा नयाँ अनुभव प्राप्त गर्न पाएको बताउँछन् । नेपाली चलचित्रलाई बलिउड जतिकै प्राथमिकता राखेर काम अगाडि बढाएको उनको भनाई छ । उनका अनुसार ‘ह्यारी कि प्यारी’मा बलिउड चलचित्र ‘बजरंगी भाइजान’को लेभलको कलरको काम भएको छ ।

स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफुहरुले राम्रो काम दिने र समय मै सिनेमाको काम सकाउने बताउँछन् । उनले २० वर्षे लामो करिअरमा ८ सय बढी चलचित्रको काम गरेका छन् ।चलचित्रको लागि ब्याकग्राउण्ड म्युजिसियनको काम गरेका बापीले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए ।

यो चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारीलगायतको पनि अभिनय रहेको छ भने अभिनेत्री रेखा थापा अतिथी भूमिकामा छिन् । चलचित्रमा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको स्वर र कविराज गहतराजको कोरियाग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu