ज्ञानेन्द्र देउजा निर्मित तथा निर्देशित यस वर्षको ‘क्लिन हिट’ चलचित्र ‘झिँगेदाउ’को सिक्वेल निर्माण हुने भएको छ । यतिबेला महेश दवाडीले ‘झिँगेदाउ २’को स्क्रिप्ट लेखिरहेका छन् । सम्भवतः अर्को वर्ष चलचित्रको सुटिङ सुरु हुनेछ । स्व.साहित्यकार भीमनिधि तिवारीद्वारा लिखित कथामाथि आधारित भएर ‘झिँगेदाउ’ बनेको थियो । अघिल्लो पार्ट सकिएको ठाउँबाटै सिक्वेल सुरु हुनेछ ।

दुई छोराबीचको झगडाका कारण आमा वृद्धाश्रम गएपछि ‘झिँगेदाउ’लाई विट मारिएको थियो । त्यहीँबाट सिक्वेलको उठान हुने निर्देशक देउजाले जानकारी दिए । तर, अघिल्लो पार्टभन्दा यसपटक बजेट बढी हुने उनको अनुमान छ । उनी भन्छन्, ‘चलचित्र गाउँले परिवेशमा नै बन्छ । पुराना शैलीका घर र त्यसअनुरुपको परिवेश देखाउन खर्च ठूलो लाग्छ । अनि, अघिल्लो पार्टभन्दा थप राम्रो बनाउनुपर्ने चुनौती पनि छ ।’
‘झिँगेदाउ २’मा अघिल्ला पार्टका पाँचजना कलाकारलाई दोहोर्याउने निर्देशक देउजाको योजना छ । उनले भने, ‘सिक्वेल भएपछि कलाकार पुरानै दोहोरिन्छन् नै । तर, स्क्रिप्ट फाइनल भएपछि मात्र कलाकारसँग कुरा अगाडि बढाउँछु,’ उनले भने । ‘झिँगेदाउ’मा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय थियो । सिक्वेलमा उनीहरु नै रहनेछन् ।