सुलेमान शंकरले ‘इकु ३’ निर्माण गर्ने



‘इकु’ उपनामले चर्चित सुलेमान शंकरले आफ्नो निर्माण र अभिनय रहेको सफल चलचित्र ‘इकु’को तेस्रो सिरिज निर्माण गर्ने भएका छन् । आगामी चैतबाट छायांकनमा सुरु गर्ने गरी यतिबेला स्क्रिप्ट लेखनको काम भैरहेको उनले जानकारी दिए । प्रदीप भारद्वाजले चलचित्रको कथा, पटकथा तथा संवाद लेखिरहेका छन् । प्रदीपकै सल्लाह सुझावमा सुलेमान ‘इकु ३’ बनाउन कस्सिएका हुन् ।

जंगलमा बस्ने एक पात्रको कथामा आधारित भएर सन् २००८ मा रिलिज भएको ‘इकु : द जंगल म्यान’ र सन् २०१२ मा रिलिज भएको ‘इकु : ब्याक अगेन’ दुवै सफल भएका थिए । सुलेमानले करिब १० वर्षपछि ‘इकु’को तेस्रो सिरिज बनाउन लागेका हुन् । चलचित्रमा उनी स्वयंको अभिनय तथा निर्माण रहनेछ । अन्य कलाकारहरु भने चाँडै फाइनल गरिने सुलेमानले जानकारी दिए ।

उनले यसपटक पनि चलचित्रको कथा जंगलमा आधारित हुने बताए । ‘अघिल्ला दुई श्रृंखला जंगलमा आधारित थियो । यसपटक पनि जंगल छिरिन्छ । जंगल र जनावर बिना त ‘इकु’ सिरिज अधुरो हुन्छ,’ सुलेमानले भने, ‘यसपटक जंगलका साथै गाउँमा पनि चलचित्र छायांकन हुन्छ ।’ कमेडी कथावस्तुमा निर्माण हुन लागेको चलचित्रलाई २०८१ सालको नयाँ वर्षमा प्रदर्शन गर्ने उनको योजना छ ।

‘इकु’का अघिल्ला दुवै श्रृंखलालाई सागर लामिछानेले निर्देशन गरेका थिए । ‘इकु ३’का लागि भने निर्देशक फाइनल गरिएको छैन । आफैंले निर्देशन गर्ने सम्भावनाबारे कलाकार शंकर भन्छन्, ‘आफैंले निर्देशन गर्ने सम्भावना त छैन । आफैंले धेरै काम गर्न सकिन्न । केही समयमा निर्देशकको पनि टुंगो लाग्छ ।’ उनले पछिल्लो पटक चलचित्र ‘फिर्के’को निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu