रक व्याण्ड एक्सिसको पाँच वर्षपछि काठमाडौंमा कन्सर्ट



काठमाडौं । रक व्याण्ड एक्सिस पाँच वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । नेपालमा केही समयअघि सम्पन्न संघीय तथा प्रदेशसभाको निर्वाचन र कतारमा जारी विश्वकप फूटबलको माहोलबीच एक्सिसले ठमेलस्थित क्लबफरेनहाइटमा दर्शकलाई नचायो ।

पीभीइ नेटवर्कको प्रस्तुति तथा यतिब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफूल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो । झिल्के एण्ड द कम्पनीले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरिरहँदा दर्शक सांगीतिक माहोलमा रमाइसकेका थिए ।

झिल्के एण्ड द कम्पनीको प्रस्तुतिपछि स्टेजमा देखिएको एक्सिसले दर्शकलाई नचाएन मात्र आफ्नो गीतमा उसले ‘वान्स मोर’ उत्तिकै पायो । एक्सिसको कन्सर्ट हेर्नकै लागि टिकट सोल्ड आउट भएको थियो ।

व्याण्डका प्रमुख गायक सन्दिप विश्वकर्माले ‘तिमी फेरी आउन’ बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका थिए । यो गीत सुन्दा दर्शक नोस्टाल्जिकसँगै सांगीतिक माहौलमा झुम्न तयार भइसकेका थिए । व्याण्डले ‘सात समुन्द्र’, ‘मुस्कान’, ‘एक चोटी’, ‘हे मोरी’, ‘अधुरो प्रेम’लगायतका चर्चित गीत सुनाएको थियो । केही दिन अघि सार्वजनिक नयाँ गीत ‘च्याङ्बा’लाई व्याण्डले छुटाएन ।

व्याण्डले गीत सुनाइरहँदा दर्शकहरू पनि त्यही गीत गाइरहेका थिए । व्याण्डले १२ गीतमार्फत दर्शक झुमाएको थियो । व्याण्डले आगामी महिना नयाँ गीत ल्याउने तयारी गरिरहेको छ । यसबाहेक सन् २०२३ मा नेपालसँगै विश्व भ्रमण गर्ने योजना पनि बनाएको छ ।

विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । व्याण्डले हालसम्म ‘ब्ल्याक एण्ड ह्वाइट(२००३)’, ‘माफ गरि देउ (२००९)’ र ‘घर गाउँ(२०१७)’ तीन एलबम बजारमा ल्याइसकेको छ । व्याण्डमा सन्दिपसहित लिड गितारमा बिर्जु कर्माचार्य, गितारमा विक्रम मानन्धर, बेस गिटारमा सजिन महर्जन र ड्रममा कविन शाक्य छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu