दशौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै



काठमाडौँ ।
‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को दशौँ संस्करण आयोजना हुने भएको छ । सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ सम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटनमा लाइभ सांगीतिक कार्यक्रम आयोजना हुने महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स’, ‘टप अफ द वर्ल्ड’ देखाइने छ । महोत्सवको समापन समारोहमा दिपक रौनियार निर्देशित लघु चलचित्र ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ ।

विश्वभरीबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्रहरु यस महोत्सवमा देखाइने छ । यस वर्ष महोत्सवमा नेपालबाट निर्देशक अभिनाष विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावन अधिकार अभियान्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन् ।

महोत्सवमा प्रर्दशन गरिने चलचित्रलाई चार विधाका उत्कृष्ट चलचित्रलाई नगद सहित अवार्ड प्रदान गरिने छ । त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ ।

महोत्सवमा ‘लुकेर बसेका कथाहरुलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिने भएको छ । मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिने छन् । त्यस्तै महोत्सवमा ‘जल वायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि राखिएको छ ।

महोत्सवमा प्रत्येक दिन चलचित्रहरु प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवं कलाकर्मीहरुबीच चलचित्र र मानव अधिकारको विषय अन्र्तक्रिया पनि गरिने छ ।
महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग रहने छ ।

महोत्सवमा युरोपियन युनियन नेपाल, नेपालका लागि अष्ट्रेलियाली दूतावास, इन्टरनेश्नल कमिसन अफ ज्युरिस्ट’ आइओएम लगायत विभिन्न संघसंस्थाको सहयोग रहनेछ । त्यस्तै महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र रिपोटर्स क्लबको सहकार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu