काठमाडौँ ।
पुराना नेपाली चलचित्रहरूको डिजिटाइजेसनमार्फत संरक्षणमा योगदान गरेका चलचित्र विकास बोर्डका सूचना अधिकृत चिरञ्जीवी गुरागाईं पुरस्कृत भएका छन् । भारतस्थित फिल्म हेरिटेज फाउन्डेसन र फेडरेसन अफ इन्टरनेसनल फिल्म अर्काइभले संयुक्त रूपमा ‘च्याम्पियन्स अफ फिल्म हेरिटेज’ अवार्डबाट पुरस्कृत गरेको हो ।

उनलाई प्रसिद्द भारतिय कलाकार बोमन इरानीले पुरस्कार प्रदान गरे । लोप हुन लागेका चलचित्रहरूलाई संरक्षण गर्न नयाँ प्रविधिमा रूपान्तरण गरेर राज्यलाई योगदान गर्ने अवसर पाएको र त्यसबापत पुरस्कृत भएकोमा गुरागाईंले खुशी व्यक्त गरेका छन् ।
‘आमा’, ‘हिजो आज भोलि’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘कुमारी’, ‘जीवन रेखा’, ‘के घर के डेरा’, ‘सिन्दूर’ ‘बदलिँदो आकाश’ र ‘शान्तिदीप’ चलचित्र र केहि वृत्तचित्रलाई उनको नेतृत्वमा डिजिटाइजेसन गरिएको छ ।