काठमाडौँ ।
एक समयकी चर्चित नेपाली अभिनेत्री बिपना थापा अभिनय फर्किने भएकी छन् । उनले निर्माणाधिन चलचित्र ‘ह्रस्वदीर्घ’मा प्रमुख कलाकारको रुपमा अभिनय गर्ने तयारी गरेकी हुन् ।
यस चलचित्रका निर्देशक चन्द्र पन्तले करिब १३ वर्षपछि थापाले अभिनयमा पुनरागमन गर्न लागेको प्रष्ट पारेका छन् । सोसल मिडियामा यसबारे जानकारी शेयर गर्दै पन्तले ‘ह्रस्वदीर्घ’मा थापालाई स्वागत गरेका छन् ।

सन् १९९५ मा चलचित्र ‘जन्मभुमि’बाट अभिनय सुरु गरेकी थापाको सन् २०१० मा रिलिज भएको चलचित्र ‘संघर्ष जिन्दगीको’ अन्तिम चलचित्र थियो । उनलाई ‘अप्सरा’, ‘आगो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘के भो लौन नि’, ‘मितिनी’, ‘ख्याल ख्यालैमा’ लगायतका चलचित्रबाट चिनिन्छ । विवाहपछि चलचित्रबाट टाढिएकी उनि भारतको कोलकाता बस्दै आएकी छन् ।
नीता फिल्मसको ब्यानरमा अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको ‘ह्रस्वदीर्घ’मा दक्षिण भारतिय चलचित्रका चर्चित कलाकारहरु ब्रम्हानन्दम र प्रदीप रावत सहित सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी लगायतका कलाकारहरु यसअघि नै तयारी अवस्थामा रहेका छन् ।
फ्लोरमा जान तयारीमा रहेको यो चलचित्र भारतको हैदराबादस्थित रामोजी स्टुडियो सहित नेपालमा र भारतको बनारसमा छायांकन हुनेछ ।


