काठमाडौँ ।
अभिनेत्री रेखा थापाले नृत्य गरेको गीत ‘धरहरा’ रिलिज भएको छ । डा. कपिल रिजालले निर्देशन गरेको नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’मा उक्त गीत समावेश गरिएको छ । यो चलचित्र माघ २० गते रिलिज हुँदैछ ।
गीतमा शिखर सन्तोषको संगीत, डा. भोला रिजालको शब्द रचना रहेको छ भने सपन कुमार राई र मिना निरौलाको स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्वय जितु नेपाल र विजय बराल देखिन्छन् ।

अभिनेत्री थापाले गीत रिलिज कार्यक्रममा बोल्दै लामो समयपछि गेष्ट रोलमा नै भएपनि पर्दामा फर्किन पाएकोमा खुशी व्यक्त गरिन् । पछिल्लो समय आफु अभिनयसँगै राजनितिमा पनि सक्रिय भएकाले सिनेमामा फर्किन समय लागेको बताइन् । चाँडै आफु मुख्य अभिनेत्रीको रुपमा पर्दामा फर्किने तयारी भैरहेको उनको भनाई छ । यो चलचित्रमा रेखाले छोटो भुमिका निभाएकी छन् ।
बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रमा जितु र विजयका अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।
निर्देशक रिजालकै प्रस्तुतीमा रहेको चलचित्रमा उनकै कथा रहेको छ । सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् । दन्त चिकित्सक डा. रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
गीत हेर्नुहोस्: