‘विजयका पिताको अन्तिम उपहार’



काठमाडौँ ।
नेपाल वायुसेवा निगमका क्याप्टेन समेत रहेका अभिनेता विजय लामाले हालै छायांकन सम्पन्न भएको चलचित्र ‘अन्तिम संस्कार’मा प्रमुख भुमिका निभाएका छन् । उनले निर्माताले ठूलो चुनौती मोलेर चलचित्र निर्माण गरेको बताएका छन् ।

एक कुराकानीको क्रममा लामाले यो चलचित्र साबिक चलचित्रहरु भन्दा निकै फरक रहेको दाबी गरे । “मैले हरेक चलचित्रमा केही फरक खोज्ने गर्छु र यसमा त्यो कुरा पाएपछि काम गर्न राजी भएँ”, अभिनेता लामाले भने “कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ । यो खालको चलचित्रमा काम गर्न जो–कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।”

अभिनेता विजय लामा

यो चलचित्रका लागि अभिनेता लामाले झण्डै १८ किलो तौल घटाएका थिए । हिमाल पारीको जिल्ला भनिने मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा चलचित्रको छायांकन गरिएको थियो । अभिनेता लामाले दिनको १८ देखि २१ घण्टासम्म खटिएर चलचित्रको छायांकन गरिएको स्मरण गरे ।

लामाको जीवनमा यो चलचित्रले निकै महत्वपूर्ण स्थान पाएको छ । उनले आफ्ना पिताको निधनपछि मृत्यु संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ मा अभिनयको लागि जोडिएका थिए । सोहीकारण आफ्नो लागि यस चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उनी बताउँछन् । भन्छन्, “मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको थियो । उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो । यो चलचित्रलाई म मेरो बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु ।”

यो चलचित्रका निर्देशक लण्डनमा फिल्म मेकिङ पढेका प्रदीप शाही हुन् । उनले यसअघि “गोर्खा: बिनिथ द ब्रेभरी” निर्देशन गरेका थिए । ‘मर्डर मिसयूज’को कथालाई चलचित्रमा समावेश गरिएको निर्देशक शाहीले बताए । चलचित्रमा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको शिर्ष अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu