नेपाल प्रहरी र चलचित्रकर्मीबीच छलफल, अध्यक्ष केसीले अघि सारे सिनेमा साईबर सेक्युरिटी लगायतका बिषय



काठमाडौँ ।
नेपाल प्रहरीले नेपाली चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग आदानप्रदानको लागि बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा अन्तरक्रिया आयोजना गरिएको हो ।

अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग आदानप्रदानको लागि यो अन्तरक्रिया आयोजना गरिएकोले चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताए । नेपाल प्रहरीको प्रमुख दायित्व हरेक नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने बताउँदै चलचित्रमा प्रहरीलाई नकारात्मक चरित्रको रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवा प्रति नागरिकको आकर्षण कम हुनसक्ने चिन्ता व्यक्त गरे ।

राईले चलचित्रको सिर्जना र कथा मर्नु हुँदैन भन्नेतर्फ सदैव नेपाल प्रहरी सजग रहेको जिकिर गर्दै तल्लो दर्जाको प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायांकनको क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकंनस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे । चलचित्र छायाकंनको क्रममा र हलमा चलचित्रको लागेपछि दिनमै दृश्य खिचेर इन्टरनेटमार्फत प्रसारण गरिदिनाले निर्माताको करोडौं नोक्सान भएकोले चिन्ता व्यक्त गर्दै यसलाई नियमन गर्न प्रहरीको सहयोगको अपेक्षा गरे । केसीले सिनेमा साईबर सेक्युरिटी र अन्य साइबर सुरक्षाको सम्बन्धमा व्यक्त गरेको चिन्ताप्रति लक्षित गर्दै प्रहरी प्रवक्ता राईले यस सम्बन्धमा साइबर व्यूरो मार्फत प्रभावकारी रुपमा काम गर्न सकिने बताए ।

पछिल्लो समयमा चलचित्र छायांकनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकोले यसको प्रयोग सहजिकरणको लागि पनि बोर्ड अध्यक्ष केसीले नेपाल प्रहरीलाई आग्रह गर्नुभयो । प्रहरीको चरित्र देखाउँदा राष्ट्रकै प्रतिनिधित्व गर्ने भएकोले संवेदनशिल भई चलचित्र बनाउन उनले चलचित्रकर्मीहरुलाई आग्रह गरे । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र निर्माणको क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्यहरू सुधार गर्न प्रयत्नरत रहेको बताउदै यसका लागि नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए अझ सहज हुने उल्लेख गरे ।

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदान प्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिवद्धता व्यक्त गरे । केही संवेदनशील विषयमा निर्णय लिँदा त्यस क्षेत्रका विज्ञको आवश्यकता पर्ने उल्लेख गर्दै वरिष्ठ कलाकार शाहले चलचित्रमा प्रहरीको चरित्र, प्रहरीसँग सम्बन्धित प्रसंग उल्लेख भएका संवेदनशील विषयमा सुधार गर्न चलचित्र सम्बद्ध व्यक्तिहरूसँग निरन्तर रूपमा अन्तरक्रिया हुनुपर्ने बताए । समस्या समाधान गर्न लामो विवेचना र विश्लेषण आवश्यक पर्ने भएकोले यसतर्फ आवश्यक समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले चलचित्रमा देखाइने प्रहरीले गर्ने क्रुर व्यवहारसँग सम्बन्धि दृश्य वास्तविक जीवनमा मानव अधिकार विरूद्धको कार्य भएकोले उक्त दृश्य देखाउनु सान्दर्भिक नहुने बताए ।

कार्यक्रममा सहभागिहरूले चलचित्र निर्माणका दौरान प्रहरीको सन्दर्भमा महसुस गरेका अप्ठ्यारा र त्यसको सहजिकरणका लागि नेपाल प्रहरीको भूमिकाको बारेमा आफ्ना धारणाहरू व्यक्त गरेका थिए ।

चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तु अनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिहरु उपर कानुनसम्मत एवम् मानवोचित व्यवहार प्रस्तुत, चलचित्र छायाङ्कन पूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय लगायतका विषयमा, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री चलचित्र हलमा प्रसारण गर्ने पद्दतीको विकास लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्ल, वरिष्ठ संगितकार शम्भुजित बास्कोटा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, नेपाल चलचित्र कलाकार संघका रामेश्वर बुर्लाकोटी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुली, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव बिएल, नेपाल म्यूजिक भिडियो निर्देशक समाजका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सल्लाहकार विधान कार्की, लोकेशन नेपालबाट ऋतिका भट्टराई, चलचित्र विकास बोर्डका अधिकृत चिरन्जिबी गुरागाईं सहित चलचित्र विज्ञहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu