नेफ्टा अवार्ड तयारीको लागि काठमाडौँ आए आयोजक



काठमाडौँ ।
प्रतिष्ठित नेपाली चलचित्र अवार्ड नेफ्टाको ११ औं संस्करण अमेरिकामा आयोजना हुँदैछ । आगामी जेठ १३ गते (२७ मे, २०२३)मा नेफ्टाको आगामी संस्करण अमेरिकी राज्य टेक्ससमा हुँदैछ । आयोजकले तयारीलाई तीव्र तुल्याएको जनाएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले चलचित्र प्राविधिक संघ (नेफ्टा)ले युएस खबर, फेम नेपाल र आर्यन फिल्म्ससँगको सहकार्यमा अवार्ड गर्न लागेको हो ।

अवार्ड तयारीका लागि युएस खबरका ओम आचार्य र फेम नेपालका विमल पछाइ शनिबार काठमाडौं ओर्लिएका छन् । आयोजक संस्थाका यी दुईजना सदस्यलाई नेफ्टा अध्यक्ष पुष्कर लामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । ‘दुई महिनासम्म नेपालमा रहेर हामीले अवार्डको तयारीलाई तीव्र तुल्याउनेछौं’ आचार्यले भने, ‘अवार्डलाई सभ्य र भव्य तुल्याउन प्रयत्नशिल हुनेछौ ।’

अबको केही महिना नेफ्टाले व्यवसायिक सहकार्यको तयारी गर्ने भएको छ । यसका लागि टाइटल, पावर्डदेखि एसोसिएट स्पोन्सरसँग सहकार्य गर्ने जानकारी दिइएको छ । २०७९ मा प्रदर्शनमा आएका फिल्मलाई जुरीले हेर्ने र उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्ने तयारी पनि छ । साथै, अवार्डको लागि कलाकारले नृत्य अभ्यास पनि गर्नेछन् ।

१२ वर्षदेखि नेफ्टाले अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ । नेपालसहित मलेसिया, हङकङ, कतार र युएईको दुबइमा कार्यक्रम सम्पन्न भैसकेको छ । पाँचौपटक विदेशी भूमिमा आयोजना गर्न लागिएको अवार्ड आयोजनाको उद्देश्य नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानु रहेको अध्यक्ष लामाले बताए । २०५६ सालमा स्थापना भएको नेफ्टाले आफ्ना ३५०० सदस्यको क्षमता अभिवृद्धि र विस्तारमा पनि अवार्ड सहायक हुने अपेक्षा गरेको छ ।

अवार्डमा भाग लिन नेपालबाट कलाकारहरु अमेरिका जानेछन् । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको र नेपाली फिल्मले गौरवमय पाँच दशकभन्दा बढी समय पार गरिसकेको सन्दर्भमा अवार्ड महत्वपूर्ण हुने आशा नेफ्टाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu