काठमाडौँ ।
देशभरका नेपाली चलचित्र निर्माताहरु काठमाडौँमा भेला भएका छन् । आफ्ना बिभिन्न मागहरुलाई सरकारसमक्ष पेश गर्ने उद्देश्यले शुक्रबार चलचित्र विकास बोर्डको सिनेमा हलमा झण्डै दुई सयको संख्यामा निर्माताहरु भेला भई छलफल गरेका छन् ।
नेपाली चलचित्रको गर्विलो इतिहास धरमराउन लागेको र यसको भबिष्यको बारेमा अब सोच्नैपर्ने बेला आएको भन्दै नेपाल चलचित्र निर्माता संघले निर्माताहरुको बृहत सभा आयोजना गरेको हो । सभामा बोल्दै संघका अध्यक्ष नवल खड्काले सुरुमा वार्ता र छलफलबाटै समस्या समाधान गर्ने र त्यसरी नभए आन्दोलनमा जाने बताए ।
संघका महासचिव सुनिल कुमार थापाले स्वदेशी निर्माताहरुको हविगत बुझिदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए । थापाले नेपाली चलचित्र भनेकै नेपाली सभ्यताको द्योतक रहेको बताउँदै हाम्रो भुगोलभित्रै कुनै विदेशी भाषाको चलचित्र आउँदा दोस्रो दर्जाको महशुस गर्नुपरेको बताए ।

छलफलमा नेपाली चलचित्रको शेयर बाँडफाँडको समायोजन, चलचित्र हलले बजाउने ट्रेलर र त्यसको समयावधि, हलभित्र टाँसिने पोष्टर र स्थानिय प्रचारप्रसार हलले नै व्यहोर्नुपर्ने, विशेशी र स्वदेशी चलचित्रको प्रदर्शन अनुपात मिलाउनुपर्ने, चाडबाडमा नेपाली चलचित्रले प्राथमिकता पाउनुपर्ने, केडिएम चार्ज, बक्स अफिसको पूर्ण कार्यान्वयन, चलचित्रको प्रोजेक्ट बीमा, कडाईका साथ हल अनुगमन, घुम्ती चलचित्र लगायतका बिषयहरु समेटिएको छ ।
भेलाको उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, प्रतिनिधिसभा सदस्य असिम शाह, प्रदेशसभा सदस्य रोज राणा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंक बहादुर महत लगायतको उपस्थिती थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा चलचित्र निर्माता, निर्देशक असिम शाह र प्रदेशसभा सदस्य तथा चलचित्र अभिनेता, निर्माता, निर्देशक रोज राणालाई सम्मान गरिएको थियो ।


