काठमाडौँ ।
प्रतिनिधि सभा सदस्य तथा चलचित्र निर्माता, निर्देशक असिम शाहले चलचित्र क्षेत्रमा गलत परिपाटी बसेको बताएका छन् । शुक्रबार नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको निर्माताहरुको बृहत भेलामा बोल्दै शाहले आफ्नो राम्रो हुँदा खुशी हुनेहरु अरुको राम्रो हुँदा दुखी हुने गरेको बताए । “आज हामी कोहि कता कोहि कता भईरहेका छौँ । आफ्नो चलचित्र चल्दा खुशी हुने, अरुको चलचित्र चल्दा दुखी हुने गलत परिपाटी बसेको छ । निर्माता संघले यसतर्फ पनि ध्यान दिनुपर्छ”, शाहले बताए ।

त्यस्तै, संचार माध्यमबाट समाचार प्रवाह हुँदा चलचित्रले कमायो भन्ने शैलीबाट सुचना दिने प्रचलन सच्याउनुपर्ने जिकिर गरे । उनले भने, “चलचित्रले यति कमायो हैन यतिको व्यापार गर्यो भन्नुपर्यो । कमाए भनेर सुचना जाँदा नयाँ निर्माताहरु झुक्किएर चलचित्रमा लगानी गर्यो भने करोडौँ कमाईन्छ भन्ने प्रलोभनमा परी फसिरहेका छन्” । व्यापार र त्यसबाट हुने कमाईको डाटा सहि रुपमा प्रवाह हुने व्यबस्था मिलाउन उनले आग्रह गरे । साथै निर्माता संघलाई नयाँ निर्माताहरुको लागि अभिमुखीकरण कक्षा अनिवार्य गर्न सुझाव दिए । चलचित्रको बारे सदनमा नै कुरा उठाउन तयार रहेको बताउँदै शाहले यस क्षेत्रका आफुले समाधान गर्न सक्ने समस्याहरु भए जानकारी दिन आग्रह गरे ।
उक्त भेलाको उद्घाटन कार्यक्रममा शाहलाई नेपाली चलचित्रको प्रतिनिधित्व गर्ने सांसद भएको भन्दै सम्मान पनि गरिएको थियो ।