चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको पाँच लाख सहयोग, अन्य चलचित्रकर्मीद्वारा पनि आर्थिक सहयोग प्रदान



काठमाडौँ ।
प्रसिद्द नेपाली तथा बलिउड गायक-गायिका दम्पती उदितनारायण झा र दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय एघार प्रदान गरेका छन् । आफ्नो कार्यक्रमको शिलशिलामा नेपाल आएको बखत पारी गायिका झाले मंगलबार उक्त रकम नेपाली चलचित्रकर्मीको हितमा काम गर्ने कोषमा हस्तान्तरण गरेकी छन् ।

झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले जनही १ लाख १ सय एघार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १ सय एघार र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय एघार कोषमा प्रदान गरेका छन् ।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भिर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ बर्ष अघि कोष स्थापना भएको थियो । कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक बशुन्धरा भुषालले बताईन् । यसको लक्ष्य १० करोडको रहेको उनले जानकारी दिईन् ।

मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहयोग प्रदान गर्ने दीपा झा, दीपकराज गिरी, दीपा श्री निरौला र गीता नेपालको उपस्थिती थियो । साथै, चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राई सहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, चलचित्रकर्मी माधव राज खरेल, गोपाल ढकाल छन्दे लगायत उपस्थित थिए ।

कार्यक्रममा कोषकी संयोजक भुषालले झा दम्पती सहित नेपाली चलचित्रकर्मीहरुले प्रदान गरेको रकम लाखमा भएपनि यसले करोडौँको मुल्य राख्ने बताईन् । उनले सामुहिक हितको लागि कोषको प्रयोग हुँदै आईरहेको बताउँदै यस प्रकारका सहयोगले नै कोषको लक्ष्य पुरा हुने धारणा व्यक्त गरिन् ।

त्यस्तै, गायिका झाले आफ्नो जीवनकालको महत्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । आफुले नेपाली चलचित्रका गीतहरुबाट नै उचाई प्राप्त गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरिन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै आफु नतमस्तक भएको बताए । उनले आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu