
काठमाडौँ।
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता दर्शकबाट अपार माया पाएको यो चलचित्रले दोस्रो सातामा पनि दर्शकको साथको अपेक्षा गरिएको छ ।
चलचित्रको युनिटले दिएको जानकारी अनुसार पहिलो हप्ता बक्स अफिसमा करिब ३ करोड ३० लाख ग्रस कलेक्सन गरेको छ । दोस्रो सातामा आइपुग्दा अन्य स्वदेशी र विदेशी चलचित्रहरू पनि रिलिज भएता पनि यो चलचित्रले पाएको शो सङ्ख्याले यो साता पनि राम्रो व्यापार गर्ने आशा गरिएको छ । गत साता अभिनेता प्रकाश सपुत, अभिनेत्रीहरू केकी अधिकारी र वर्षा सिवाकोटी नारायणगढ, बुटवल र नेपालगन्ज पुगेर दर्शकसँग साक्षात्कार गरेका छन् ।
उज्ज्वल भविष्यको सपनासहित बिदेसिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको यो चलचित्रमा प्रकाश र वर्षाका अलावा केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय रहेको छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रमेश बिजीको लेखन रहेको छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।


