
काठमाडौँ।
बहुप्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ रिलिज भएको छ । नेपालसहित यो चलचित्र ओभरसिजमा पनि रिलिज भएको छ ।
रिलिजसँगै बिहानका सबै शो हाउस फुल रहेको निर्देशक दीपेन्द्र के. खनालले जनाएका छन् । यसको अनलाइन टिकट बुकिङको आँकडाले व्यापारमा उछाल ल्याउने सङ्केत गरेको थियो । पहिलो दिनको अवस्था हेर्दा सो आकलन सत्य हुने सम्भावना देखिएको छ । बुधवार नै यसको एडभान्स टिकट बुकिङ खुला गरिएको थियो । बुकिङ खुल्नासाथ यसले बिक्रीको रफ्तार समाएको थियो ।
देशभरका मल्टिप्लेक्सले यो चलचित्रलाई सयभन्दा बढी शो उपलब्ध गराएका छन् । यो भन्दा धेरै शो पाउने आकलन गरिएको भएता पनि भारतीय चलचित्रहरू ‘लियो’ बिहीबार नै रिलिज भएको र ‘गणपत’ शनिवार नै रिलिज हुने भएका कारण उल्लेख्य मात्रामा शो कम भएका छन् । यद्यपि आक्रामक ओपनिंगको लागि प्राप्त हल पनि थोरै भने होइनन् ।
यस चलचित्रमा स्वस्तिमा सहित विपिन कार्की, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट र भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गरेका हुन् ।


