‘दिमाग खराब’ले टी-२० विश्वकप एसिया छनोटको खेलमा पुरस्कार दिने



काठमाडौँ।
कार्तिक २४ गते रिलिज हुने नेपाली चलचित्र ‘दिमाग खराब’को टिमले टी-२० विश्वकप फाइनल एसिया छनोटको खेलमा पुरस्कार घोषणा गरेको छ । सोमबारबाट सुरु भएको खेलमा ‘दिमाग खराब म्यान अफ दी म्याच’ बन्ने खेलाडीलाई ५० हजार र आफ्नो खेल कौशलले टिमलाई महत्त्वपूर्ण सहयोग गर्ने खेलाडीलाई ‘दिमाग खराब सेग्मेन्ट अफ दी डे’ अन्तर्गत १० हजार प्रदान गरिने निर्माता रौनक विक्रम कडेलले बताए ।

यो पुरस्कारका हकदार भने नेपाली खेलाडी मात्र हुनेछन् । खेलाडीको मूल्याङ्कनको अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान)लाई दिइएको छ ।

साथै, यस चलचित्रको कूल मुनाफाको ५ प्रतिशत क्यानलाई प्रदान गर्ने सहमति भएको छ । आइतबार निर्माता कडेल र क्यानका पदाधिकारीबिच सो सहमति भएको हो । क्यानसँगको सहकार्यमा ‘कात्तिक २४ गते दिमाग खराब हेरौँ, नेपाली क्रिकेट टिमलाई सहयोग गरौँ’ भन्ने नारा पनि बनाइएको छ ।

नेपाली खेलाडीलाई हौसला र नेपालको क्रिकेट खेलको विकासका लागि आफूले यो कदम उठाएको कडेलले बताए । उनले भने “अहिले देशलाई चिनाउने काम क्रिकेटले गरिरहेको छ । नेपाली खेलाडीहरूले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । यो बेला सबैको साथ, सहयोग र हौसलाको खाँचो छ । यसैले सिनेमाको तर्फबाट यो घोषणा गरेका हौँ ।”

सिनेमा आर्ट्स र ब्ल्याक हर्ष पिक्चर्सको निर्माण रहेको यस चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको अभिनय छ ।

निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्रलाई लिएर दर्शक व्यग्र प्रतीक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको छ ।

यसमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेका छन् । सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu