‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट



काठमाडौँ।
९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको छ । नेपाली मिति अनुसार कार्तिक २२ गतेदेखि मङ्सिर १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको लस-एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने फेस्टिभलको नवौँ संस्करणको प्रतिस्पर्धात्मक खण्डमा यो चलचित्र छनोटमा परेको हो ।

यो खण्डमा यसले एसियाली मुलुकका दर्जनौँ फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस वर्ष अस्करमा सिफारिस भएका अन्य एसियाली मुलुकका चलचित्रहरू पनि प्रतिस्पर्धाको लागि छनोटमा परेका छन् । फेस्टिभलको दौरान ‘हल्कारा’ २४ कार्तिक साँझ ४ बजे र २५ कार्तिक राती ९:३० बजे स्क्रिनिङ हुने तालिका रहेको छ । त्यसपछि निर्देशक विक्रम सापकोटासँग प्रश्नोत्तर सेगमेन्ट पनि रहेको छ ।

गत वर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘हल्कारा’ चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।

हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको ‘हल्कारा’ गत वैशाख २९ गते नेपालमा रिलिज भएको थियो । हाल युरोप तथा अमेरिकामा केही देशहरूमा प्रदर्शन भइरहेको छ । यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ भने प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यानेडियन हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu