चलचित्रले काठमाडौँलाई सांस्कृतिक र आर्थिक हिसाबले चिनाउने छ: उपमेयर डङ्गोल



काठमाडौँ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) कला, साहित्य, सिर्जना जस्ता रचनात्मक विधाबाट काठमाडौँलाई चिनाउने र राष्ट्रिय अर्थतन्त्र बढाउनमा यो कार्यक्रम लाभदायी हुने अपेक्षा गरेको बताएकी छन् । चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको सो सञ्जालमा काठमाडौँ महानगरपालिका जोडिएसँगै डङ्गोलले साझेदारसँग मिलेर लक्ष्य प्राप्तिका लागि काम गर्ने बताइन् ।

बुधवार पत्रकार भेटघाट गर्दै उनले यसबाट काठमाडौँको सांस्कृतिक विविधता, पर्यटन र स्थानीय आयमा वृद्धि हुने र चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको जानकारी गराइन् ।

पत्रकार भेटघाट कार्यक्रममा युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले नेपालको प्रकृति र सम्पदा अलौकिक रहेको बताए । उनले नेपाल आउनु अघि यहाँको प्राकृतिक र सांस्कृतिक विविधताका विषय थाहा नभएको तर, यहाँ आएपछि बुझेको बताए । उनले आफूजस्तै नेपाल र काठमाडौँका विषयमा थाहा नपाउनेहरूका लागि चलचित्र विधाबाट गरिने क्रियाकलाप प्रवर्द्धनका लागि उपयोगी हुने र यो काठमाडौँका लागि अवसर रहेको उल्लेख गरे ।

युसीसीएन कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिकाले यसको लागि विभिन्न योजनाहरू पनि सार्वजनिक गरेको छ ।

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो । युसीसीएनमा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । विश्व सहर दिवसका अवसरमा कार्तिक १४ गते सहर सञ्जालका नयाँ सदस्यहरूको नाम सार्वजनिक गरिएको थियो ।

यो सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरू आबद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । नयाँ सदस्य सहरसहित चलचित्र विधामा काम गर्ने विश्वका २५ वटा सहर भएका छन् । यस वर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौँसहित ५ वटा सहर चलचित्र विधामा छानिएका छन् । यस्तै सङ्गीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन् ।

रचनात्मक सहरमा आबद्ध हुन निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो । सरोकारवाला बिच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कनसहित ४ वर्षका लागि कार्य योजना तयार पारेर प्रस्तावसहित पेस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu