काठमाडौँ।
चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौँ क्रिएटिभ आर्ट्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुने भएको छ ।
युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क)मा चलचित्र विधाबाट सूचीकरण भएसँगै बुधवार पत्रकार सम्मेलनको आयोजना गरी महानगरपालिकाले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू र गतिविधिहरू कार्यान्वयन गर्ने जनाएको छ । युसीसीएन कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गरिने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाकी सम्पदा तथा पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानले चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिने योजना रहेको बताइन् ।

विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरी पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइने, ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरूको सुधार, पूर्वाधार स्तर वृद्धि, वास्तुकला संवर्धनहरू, चलचित्र निर्माणको कथा कथन र सौन्दर्य शास्त्रमा योगदान पुर्याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइने, चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरू लगायतका योजना महानगरले अगाडी सारेको छ ।
अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता सञ्चालन गरिने पनि कार्यक्रममा बताइयो । यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्ने र यसबाट अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुने, सदस्य अन्तर्राष्ट्रिय नगरहरूमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता र साझेदार बिच ज्ञान, सिप र अनुभव आदान प्रदानको वातावरण प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) कला, साहित्य, सिर्जना जस्ता रचनात्मक विधाबाट काठमाडौँलाई चिनाउने र राष्ट्रिय अर्थतन्त्र बढाउनमा यो कार्यक्रम लाभदायी हुने अपेक्षा गरेको बताएकी छन् । चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको सो सञ्जालमा काठमाडौँ महानगरपालिका जोडिएसँगै डङ्गोलले साझेदारसँग मिलेर लक्ष्य प्राप्तिका लागि काम गर्ने बताइन् ।
युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले नेपालको प्रकृति र सम्पदा अलौकिक रहेको बताउँदै यहाँको प्राकृतिक र सांस्कृतिक विविधताका विषयमा चलचित्र विधाबाट गरिने क्रियाकलाप प्रवर्द्धनका लागि उपयोगी हुने र यो काठमाडौँका लागि अवसर रहेको उल्लेख गरे ।
रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो । युसीसीएनमा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । विश्व सहर दिवसका अवसरमा कार्तिक १४ गते सहर सञ्जालका नयाँ सदस्यहरूको नाम सार्वजनिक गरिएको थियो ।


